अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपति उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं, २७ फागुन । नेकपा एमालेले पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए।
यसअघि राष्ट्रपतिमा पनि एमालेले उपाध्यक्ष सुभासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको थियो । नेम्वाङ रामचन्द्र पौडेलसँग पराजित भएका थिए । पार्टीको स्थानिय निकायदेखि नै प्रमुख/उपप्रमुखमध्ये एक जना महिला अघि सारेको सन्दर्भलाई लिएर राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एकजना महिला हुनुपर्ने भन्दै शाक्यलाई उम्मेदवार बनाएको जनाएको छ।
पुरुषलाई नै दुई वटै पदमा उठाउने कुरा संविधान विपरित हुने भन्दै चैत्र ३ गते हुने उपराष्ट्रपतिका लागि पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दए।
यसअघि बागमती प्रदेशको मुख्यमन्त्री रहीसकेकी नेतृ शाक्य एमालेमा स्वच्छ छवीको नेतामा पर्छिन् । उनि पार्टी फुट्नु अघि माधवकुमार नेपाल पक्षमा खुलेपनि विभाजनमा नेपाललाई छाडेर एमालेमै बसेकी थिईन् ।

