पिएनजीमाथि नेपालको प्रभावशाली जीत
आसिफको शतक, सन्दीपको चार विकेट
काठमाडौं, २५ फागुन । आईसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनी (पिएनजी) सम्मिलित त्रिकोणात्मक श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालले पिएनजीलाई हराएको छ ।
बिहिबार भएको खेलमा नेपालले पिएनजीलाई ५२ रनले हराएको हो । नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पिएनजी ४७ ओभर १ बलमा २४५ रनमा समेटियो ।
पिएनजीका लागि नर्मन भानुआले ६० तथा ओपनर टोनी उराले ५० रन बनाएका थिए । कप्तान असाद भालाले ४२ रन बनाए । नेपालका सन्दीप लामिछानेले ४ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले २ र कुशल मल्लले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.१ ओभरमा अलआउट हुँदै २९७ रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेखले ११० रनको शतकीय पारी खेलेका थिए ।
त्यस्तै कुशल भुर्तेलले ४५ र भीम सार्कीले ४४ रन बनाए । पिएनजीका सेमो कामियाले ५ विकेट लिए भने राइले हेकुरेले ३ र अलइ नाओले १ विकेट लिएका थिए ।
नेपालका लागि गुल्शन झाले ९ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए भने कुशल मल्लले २ तथा करण केसी, सोमपाल कामी र प्रतिश जिसीले १-१ विकेट लिए ।
नेपालले अब आफ्नो दोस्रो खेलमा आइतबार युएईसँग खेल्ने छ । त्यसअघि भोलि शुक्रबार युएई र पिएनजी खेल्दै छन् ।

