मुख्यमन्त्रीको सम्पत्ति विवरणमा ‘ड्रागन फ्रुट’ पनि देखाइयो

काठमाडौं, २४ फागुन । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनको सम्पत्ति विवरणमा नगद र जिन्सी बाहेक ‘ड्रागन फ्रुट’ खेती पनि देखाइएको छ।

मुख्यमन्त्री शर्माको सम्पत्ति विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा राखिएको छ। जहाँ उनले लमही नगरपालिका-१ दाङमा कृषि तथा पशुधनमा अन्दाजी तीस लाख लागतमा ६०० बोट ड्रागन फल खेती गरिरहेको देखाएका छन् ।

उक्त खेतीबाट वार्षिक १५ देखि १६ लाखसम्म आम्दानी हुने मुख्यमन्त्री शर्माको सम्पत्ति विवरणमा उल्लेख छ । मुख्यमन्त्री शर्माले अचल सम्पत्तिमा श्रीमती प्रतिभा केसीको नाममा दाङको लमही नगरपालिका १ मा ३ हजार ५ सय ७२ दशमलव ९१ वर्गमिटर जग्गा रहेको उल्लेख गरेका छन् ।

उक्त जग्गा पैतृक सम्पत्तिबाट आर्जन गरिएको उल्लेख छ । यस्तै, रुकुमको चौरजहारी नगरपालिका-१४ मा बाबु चन्द्रप्रकाश शर्माको नाममा अन्दाजी ४ देखि ५ रोपनी र रुकुमपश्चिमकै वडा नम्बर २ मा २१ सय २० वर्ग मिटर जग्गा आफ्नो नाममा रहेको उल्लेख गरेका छन् ।

यसको स्रोत पैतृक, कृषि आय र सेवा सुविधाबाट प्राप्त भएको उल्लेख छ । यस्तै, मुख्यमन्त्री शर्माले सेवा सुविधाबाट प्राप्त नेपाल बैंक लिमिटेडमा ५ लाख नगद र अन्दाजी दुई तोला सुन श्रीमतीको माइतीबाट प्राप्त भएको उल्लेख गरेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय