रामचन्द्रको पत्र ८८२ जनालाई, एमाले पनि मत माग्दै

काठमाडौं, २० फागुन । फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा आफुलाई मत दिएर जिताउन आग्रह गर्दै  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ८८२ जनालाई पत्र पठाएका छन् ।

त्यसैगरी अर्का उम्मेदवार एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि मत माग्न दलका कार्यालय पुगिरहेका छन् । दुवै उम्मेदवारले मत माग्ने आ-आफ्नै शैली अपनाएको देखिन्छ ।

राष्ट्रपति निर्वाचनका लागि मत माग्दै पौडेलले राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेश सभाका सांसदहरुलाई पत्र पठाएका हुन् । पत्रमा रामचन्द्रले ‘भावुक’ बनाउने शब्द समेत राखेका छन्।

‘निर्दलीय निरङ्कुश सत्तासँग म झुकिनँ र पञ्चायतको तीसवर्षे कार्यकालमा आधा समय त मैले जेलमै बिताएको हूँ’, उनले लेखेका छन्- ‘सानैदेखि संघर्ष थालेको र सत्तामा हुँदा आफू कहीँकतै नचुकेकोले राष्ट्रपतिमा जिताइदिनुहोला ।’

यता नेम्वाङले आफू देशले गर्व गर्ने साझा राष्ट्रपति हुने भन्दै दलका नेताहरूलाई जिताउन आग्रह गरेका छन् । नेम्वाङको पार्टी एमालेले १२ राजनीतिक दल र ५ स्वतन्त्रलाई १७ वटा पत्र लेखेर मत मागेको छ ।

उता पौडेलले बहुदलीय व्यवस्थाको पुनरागमनपछिका सत्ताका दिनहरुमा पनि कहीँकतै नचुकी देश र जनताको उन्नति, राष्ट्रिय स्वाधिनता र अस्मिताको लागि निष्ठापूर्वक सकेको सेवा गर्दै आएको र आफ्नो छविमा कतै दाग लाग्न नदिने भरमग्दूर कोशिस गर्दै आएको भन्दै आफुलाइ राष्ट्रपतिमा सहयोग गर्न अपिल गरेका छन् ।

उनले पत्रमा भनेका छन्–राजनीतिक विचारधाराको इन्द्रमा अल्मलिन नपरोस भनेर समाजवादको सार ‘निमुखालाई न्याय र विपन्नलाई आय’ सबैको साझा सिद्धान्त हुन सक्छ भनेर विनम्र अपिल गर्दछु।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय