क्रिकेट विश्‍वकप लिग २ मा नेपाल र पपुवा न्युगिनी खेल्दै

काठमाडौं, १५ फागुन । आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत युएई, नेपाल र पपुवा न्युगिनी (पिएनजी) सम्मिलित त्रिकोणात्मक श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालले आज पिएनजीसँग खेल्दैछ ।

युएईको दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने १२ बजेदेखि सुरु हुनेछ ।

यस श्रृंखलामा सहभागी हुन नेपाली टोली शनिबार नै युएई पुगेको छ । टोलीमा स्टार लेग स्पिनर सन्दीप लामिछाने भने उपलब्ध छैनन् ।

उनीमाथि लागेको बलात्कारको मुद्दा विचाराधीन अवस्थामै रहेकाले उनलाई हाल धरौटीमा छाडिएको छ भने विदेश जान पनि रोक लगाइएको छ ।

यसअघि अघिल्लो साता मात्र सम्पन्‍न नामिबिया र स्कटल्यान्डसँगको त्रिदेशीय श्रृंखलामा घरेलु दर्शकको भरपुर साथ पाएको नेपालले चारवटै खेल जितेको थियो ।

यस श्रृंखलामा पनि नेपाललाई उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाब हुने छ । विश्‍वकप छनौटमा सोझै पुग्‍ने नेपाललाई अब बाँकी ८ मध्ये ७ खेल जित्‍नुपर्ने हुन्छ ।

८ मध्ये ४ खेल यस श्रृंखलापछि यिनै टोलीसँग नेपालमै हुनेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय