दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने तयारी

काठमाडौं, ११ फागुन । राष्ट्रिय दुग्ध विकास बोर्डले महँगीलाई कारण मुल्य बढाउन प्रस्ताव गरेसंगै सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ ।
दुग्ध विकास बोर्डले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेको छ । फाुगन २ गते बोर्डले मन्त्रालयलाई मूल्य विश्लेषण प्रतिवेदन बुझाएको थियो । जसअनुसार लिटरमा १४ रुपैयाँसम्म लागत महँगिएको भनिएको छ ।
दुग्ध विकास बोर्डले बैंकको ब्याजदर, इन्धनमा भएको मूल्यवृद्धि र दाना चोकरको मूल्यका कारण किसानहरु नोक्सानीमा गएको देखिएको भन्दै दुग्ध किसानलाई बचाउनका लागि १० रुपैयाँसम्म मूल्य बढाउनु पर्ने प्रतिवेदन दिएको थियो ।
यसअघि किसानको दुग्ध उत्पादन लागतबारे बोर्डले सातै प्रदेशमा अध्ययन गरेको थियो । जसअनुसार मूल्य बढाउनै पर्ने देखिएको बोर्डको भनाई छ । मूल्य बढाउनेबारेको अध्ययन प्रतिवेदन मन्त्रालयमा बुझाएको र थप छलफल गरेर मन्त्रिपरिषद्मा मूल्य सिफारिस गर्ने तयारी छ । त्यसपछी मात्रै सरकारले मूल्य बढाउनेबारे निणर्य लिन सक्नेछ ।
गत वर्ष २८ माघमा पनि सरकारले सबै प्रकारका दूधको उपभोक्ता मूल्य लिटरमा ९ देखि १४ रुपैयाँसम्मले बढाएको थियो ।

