अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको सर्भर डाउन; उडान ठप्प, यात्रु अलपत्र

काठमाडौं, ८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा दर्जनौं उडान प्रभावित भएका छन् । उडान नहुँदा यात्रुलाई समस्या भएको विमानस्थल स्रोतको भनाई छ ।

मध्यान्नमा सर्भर डाउन भएपछि केही उडान बन्द भएको र अब नियमित गर्ने तयारी भैरहेको बुझिएको छ । अध्यागमनमा पटकपटक यस्तो समस्या हुँदा गृह मन्त्रालय र अध्यागमन विभागलाई ताकेता गरेपनि समाधान नभएको कर्मचारीको गुनासो छ ।

करिब एक घण्टादेखि सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसकेकोले उडान प्रभावित भएको हो ।

सर्भर बिग्रिएको कारण फ्लाई दुबई, एयर इन्डिया, इण्डिको एयर, थाई स्माइल, मलेसियन एयरलगायतका ९ वटा जति उडान प्रभावित भएको बताइएको छ । यात्रुहरु विमानस्थलमा आक्रोशित रहेको बुझिएको छ ।

उडान प्रभावित हुँदा तेस्रो मुलुकको यात्रा गरिरहेका यात्रुहरूको कनेक्टिङ फ्लाइट छुट्न सक्ने देखिएको छ । पटक-पटकको यस्तो समस्या दोहोरिँदा पनि सरोकारवाला निकाय मौन रहेको यात्रुको गुनासो छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय