विश्वकप क्रिकेट लिग २ मा नेपाल र नामिबिया खेल्दै

काठमाडौं, ६ फागुन । आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज नामिबियासँग खेल्दैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार विहान ९ बजेदेखि सुरु हुनेछ । खेलको कान्तिपुर टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हुने छ ।
यसअघिका दुवै खेलमा नेपालले जीत निकालेको थियो । पहिलो खेलमा मङ्गलबार नामिबियालाई २ विकेटले हराएको नेपालले दोस्रो खेलमा हिजो स्कटल्यान्डलाई ३ विकेटले पराजित गर्यो ।
घरेलु दर्शकको भरपुर साथ पाएको नेपालले आज पनि जीत निकाल्दै लिग २ मा महत्वपूर्ण २ अंक जोड्न चाहन्छ ।

