ऐरी र मल्लको उत्कृष्ट ब्याटिङमा नेपालले स्कटल्यान्डलाई हरायो

काठमाडौं, ५ फागुन । आईसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक श्रृंखलामा नेपालले लगातार दोस्रो जीत निकालेको छ । शुक्रबार भएको खेलमा नेपालले स्कटल्यान्डलाई ३ विकेटले हराएको हो ।
स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले तीन ओभर बाँकी छँदै ७ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै ८५ रन बनाए भने कुशल मल्लले ८१ रन बनाए । स्कटल्यान्डका क्रिस सोल र मार्क वाटले ३ ३ विकेट लिँदा माइकल लिस्कले १ विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले नेपाललाई चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो । स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २७४ रन बनाइ नेपाललाई २७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
उसका लागि माइकल लिस्कले शतकीय पारी खेले । उनले ८५ बलमा ३ चौका र ९ छक्कासहित अविजित १०७ रन बनाए । टोली १११-६ को कठिन परिस्थितिमा हुँदा ब्याटिङमा आएका उनले ज्याक जार्भिस र मार्क वाटसँग मिलेर इनिङ उकासेका थिए ।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिए भने कुशल मल्लले ९ ओभरमा ४९ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको नाममा १-१ विकेट रह्यो ।
नेपालले अब शनिबार नामिबियासँग खेल्ने छ ।

