अब १० दिनमा गठबन्धन भत्किन्छ- गगन थापा

काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रचण्ड नेतृत्वको अहिलेको सरकारको आयु सकिएको बताएका छन् ।
महामन्त्री थापाले अबको दश दिनभित्र अहिलेको सत्ता गठबन्धन भत्किने ठोकुवा समेत गरे । उनले राष्ट्रपति निर्वाचन भन्दा अगाडी नै उम्मेदवारकै बिषयमा लफडा भएर सरकार ढल्ने समेत बताए ।
फागुन २५ को राष्ट्रपति निर्वाचन अगाडी नै सरकारको आयु सकिने भन्दै महामन्त्री थापाले पुस १० गते निर्माण भएको सत्ता गठबन्धन फागुनको १० भित्रै भत्काएरै छाड्ने घोषणा समेत गरे ।
निर्वाचन अगाडिको गठबन्धनले ५ वर्षसम्म सँगै सरकार सञ्चालन गर्ने र मुलुकमा स्थिरता, समुन्नति र समृद्धिका लागि काम गर्ने गरी जनताले निर्वाचित गराएकाले जनताको म्यान्डेटविपरीत बनेको सत्ता गठबन्धन भत्काउनै पर्ने बताए ।
उनले निर्वाचन अगाडि जनतासँग जाँदा एउटा गठबन्धन र निर्वाचनपछि सरकार बन्दा अर्को गठबन्धन हुँदा जनतामा नैरास्यता छाएको उल्लेख गर्दै जनताको मतको सम्मान गर्दै पुरानै गठबन्धन कायम रहनुपर्ने बताए।
चुनावभन्दा अगाडि गठबन्धन गरेर मत मागेर आएपछि तलमाथि गर्ने अधिकार कसैलाई नभएको भन्दै उच्च राजनीतिक संस्कार र नैतिकता कायम राख्न नसक्नु काङ्ग्रेस र माओवादी दुबैका नेतृत्वको कमजोरी रहेको समेत उनले बताए ।
नेपाली काङ्ग्रेसको नेतृत्वले गरेको गल्तीका कारण चुनावी गठबन्धन भत्किएको भए पनि जनचाहना अनुसार कांग्रेस नेतृत्वको गठबन्धन फेरि बनाउने उनले दाबी गरे।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसले उठाएको उम्मेदवार निर्वाचित गराउने भन्दै महामन्त्री थापाले एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति निर्वाचित भएमा सिंहदरबार र शीतल निवासबाट समानान्तर सत्ता चल्ने दाबी गरे।
उनले एमाले अध्यक्ष केपी ओलीले भनेको व्यक्ति राष्ट्रपति भए सिंह दरबारबाटै शितल निवासको लेटर प्याड र रबर स्ट्याम्पले राष्ट्रपतिको काम हुने भन्दै देशलाई दुर्घटनाबाट जोगाउन कांग्रेसले तय गरेको व्यक्ति राष्ट्रपति हुने बताए।

