भुर्तेलको शतक र रोहितको अर्धशतकमा नामिबियाविरुद्ध नेपालको कीर्तिमानी जीत

एकदिवसीयमा सर्वाधिक रनको लक्ष्य पूरा

काठमाडौं, २ फागुन । आईसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालले शानदार जीत निकालेको छ । नेपालले नामिबियालाई २ विकेटले हराउँदै कीर्तिमानी जीत निकालेको हो ।

नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले १४ बल बाँकी छँदै ८ विकेटको क्षतिमा भेट्टायो । एकदिवसीय क्रिकेटमा नेपालका लागि यो सर्वाधिक सफल रन चेज अर्थात् लक्ष्य पूरा हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले शतकीय पारी खेल्दै ११५ रन बनाए भने कप्तान रोहित पौडेलले ७२ रन बनाए । नामिबियाका जान लफ्टी इटन र रुबेन ट्रम्पलमेनले ३-३ विकेट लिए भने बर्नार्ड स्कोल्ज र ताङ्गेनी लूङ्गामेनीले १-१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले नेपाललाई बलियो लक्ष्य प्रस्तुत गरेको थियो । नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २८५ रन बनाइ नेपाललाई २८६ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

उसका लागि माइकल भान लिन्जेनले शतकीय पारी खेले । उनले १३७ बलमा ९ चौका र ५ छक्कासहित १३३ रन बनाए । त्यसैगरी कप्तान जेरार्ड इरास्मसले ५६ रनको योगदान दिए भने जान जेन ग्रीनले ३४ रन बनाए ।

नेपालका लागि करण केसीले १० ओभरमा ६१ रन खर्चेर ५ विकेट लिए भने सन्दीप लामिछानेले १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी र कुशल मल्लको नाममा १-१ विकेट रह्‍यो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय