भान लिन्जेनको शतकमा नामिबियाद्वारा नेपाललाई बलियो लक्ष्य

करणले लिए पाँच विकेट, सन्दीपलाई तीन सफलता

काठमाडौं, २ फागुन । आईसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालले नामिबियासँग खेलिरहेको छ ।

काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले नेपाललाई बलियो लक्ष्य प्रस्तुत गरेको छ । नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २८५ रन बनाइ नेपाललाई २८६ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

उसका लागि माइकल भान लिन्जेनले शतकीय पारी खेले । उनले १३७ बलमा ९ चौका र ५ छक्कासहित १३३ रन बनाए । त्यसैगरी कप्तान जेरार्ड इरास्मसले ५६ रनको योगदान दिए भने जान जेन ग्रीनले ३४ रन बनाए ।

नेपालका लागि करण केसीले १० ओभरमा ६१ रन खर्चेर ५ विकेट लिए भने सन्दीप लामिछानेले १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी र कुशल मल्लको नाममा १-१ विकेट रह्‍यो ।

नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय