विमान दुर्घटनाको एक महिनापछि सापकोटा दम्पतिको अन्त्येष्टि

रासस
फाइल तस्वीर

पोखरा, २ फागुन । पोखरामा गत माघ १ गते भएको यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका पोखरा–२५ हेम्जा हनुमानचोकका एक दम्पतीको एक महिनापछि सोमबार अन्त्येष्टि गरिएको छ ।

दुर्घटनामा ज्यान गुमाएका राजन सापकोटा र उनका श्रीमती आनिषा बानियाँ सापकोटाको हेमजा सेती नदी मराङघाटमा अन्तिम संस्कार गरिएको हो । अनिषाको शव पहिचान गर्न समस्या भएपछि अन्तिम संस्कार गर्न ढिलाइ भएको हो । राजनको शव माघ ८ गते काठमाडौंमा शवपरीक्षणबाट पहिचान भए पनि अनिषाको पहिचान गर्न डिएनए गरिएको थियो ।

डिएनएको रिपोर्ट आइतबार प्राप्त भएपछि काठमाडौंबाट राति शव ल्याएर बिहान शवयात्रासहित अन्तिम संस्कार गरिएको मृतकका काका प्रकाशचन्द्र सापकोटाले जानकारी दिए ।

डिभी परेर अमेरिका बस्दै आएका राजन गत वर्ष विवाह गरेर फर्किएका थिए । विवाहको पहिलो वार्षिकोत्सव मनाउन उनी पुस ३० गते नेपाल आएका थिए । उनलाई लिन श्रीमती अनिषा काठमाडौं गएकी थिइन् । पोखरा फर्किने क्रममा उनीहरू चढेको विमान सेती खोंचमा दुर्घटनामा परेको थियो । सो विमान दुर्घटनामा परी ७२ जनाले ज्यान गुमाएका थिए ।

यसैगरी दुर्घटनामा ज्यान गुमाउने पोखरा–२१, दोविल्ला निवासी २४ वर्षीया सविना रायमाझीको पनि सोमबारै अन्त्येष्टि गरिएको छ । उनको पोखरा–२१ स्थित सेती नदीको दोबिल्ला घाटमा सोमबार विहान अन्त्येष्टि गरिएको उनका पारिवारिका सदस्यले जनाएका छन् । सविनाको पनि शव पहिचान हुन नसकेपछि माघ ३ गते डिएनए परीक्षणका लागि काठमाडौं लगिएको थियो ।

डिएनएको रिपोर्ट आइतबार मात्रै प्राप्त भएपछि सोमबार सविनाको परिवारले शव बुझेलगत्तै अन्त्येष्टि गरेका हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय