चितवन-२ मा वैशाख १० गते उपनिर्वाचन हुने

काठमाडौं, २९ माघ । चितवनको क्षेत्र नम्बर २ मा आउँदो वैशाख १० गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय भएको आयोगले जनाएको छ ।
यसअघि गत ४ मंसिरमा भएको निर्वाचनमा चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निर्वाचित भएका थिए । तर, नेपाली नागरिकता त्यागेर अमेरिकन नागयिरकता लिएको र अमेरिकन नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया पुरा नगरेको भनी सर्वोच्च अदालतले फैसला गरेपछि लामिछानेको पद गएको थियो ।

