विवेकशील साझाको महाधिवेशन सुरु
डा.बाबुराम भट्टराई सहितका नेताले सम्बोधन गर्दै
काठमाडौं, २७ माघ । वैकल्पिक शक्तिको रुपमा उदाएको तर केही समयमै छिन्नभिन्न अवस्थामा पुगेको विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन शुक्रबारदेखि काठमाण्डौमा शूरु भएको छ । महाधिवेशन दुई दिन चल्नेछ ।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई समेत नयाँ दलका सभापति र पुराना दलका नेताले महाधिवेशनमा सम्बोधन गर्दैछन् । महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सिके राउत, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल र नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको नेता प्रकाशचन्द्र परियारले बताए ।
पार्टीका नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको र महाधिवेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्रले राजावादी दस्तावेज ल्याएपछि विवेकशील साझा विवादको भूमरीमा परेको थियो । मिश्र हाल राप्रपा उपाध्यक्ष छन् । उनलाई र उनको पार्टीलाई महाधिवेशनमा सम्बोधन गर्ने निम्तो छैन ।
महाधिवेशनले पार्टीलाई नयाँ नेतृत्व र नीतिगत स्पष्टता दिने बताइएको छ । पार्टीका नेता मिलन पाण्डेले पार्टीको पहिलो महाधिवेशनले विवेकशील साझालाई गम्भीर र अनुभवसहितको वैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने बताए ।
महाधिवेशनमा पाण्डे र वर्तमान अध्यक्ष समिक्षा बास्कोटासहित प्रकाशचन्द्र परियार अध्यक्षको आकांक्षी छन् ।

