डिनाको डरलाग्दो डिजाइन !

मकवानपुर, २४ पुस । प्रतिनिधिसभाको निर्वाचनदेखि बागमती प्रदेश संसदीय दलको नेता चयन सम्म आउँदा नेपाली काङ्ग्रेस मकवानपुरमा पार्टी नेताले अन्तर्घात देखि शक्ति प्रदर्शन सम्म गरेको र यसमा केन्द्रिय नेताकै काङ्ग्रेसलाई कमजोर बनाउने ‘डिजाइन’ रहेको खुलेको छ ।

खासगरी नेपाली काङ्ग्रेस सह-महामन्त्री महालक्ष्मी उपाध्याय (डिना) र पार्टीका बागमती प्रदेश सभापति इन्द्र बानियाँबीचको ‘इगो प्रोबलम’ले सिङ्गो नेपाली काङ्ग्रेसलाई नै घाटा पुगेकोमा पार्टी कार्यकर्ताले दुखेसो गरेका छन् ।

प्रदेश सभापति बानियाँले आफुलाइ प्रतिनिधि सभामा घात गरेको डिनाको आरोप छ भने डिनाकै कारण बानियाँले संसदीय दलको नेतामा पराजित हुनुपरेको चर्चा छ । यद्यपि यी दुइको आ-आफ्नै बुझाइ र अनावश्यक शक्ति प्रदर्शनको ‘डिजाइन’ले डिनाको क्षेत्रमा राप्रपाले बाजी मार्‍यो भने संसदीय दलको नेतामा बहादुर सिंह लामाले मौका पाए ।

यद्यपि यो ‘डिजाइन’मा बानियाँ भन्दा बढी सह-महामन्त्री डिनाकै हात रहेको जानकारहरु बताउँछन् । डिनाले पार्टी सभापति शेरबहादुर देउवालाई समेत प्रदेश सभापति बानियाँलाई कमजोर बनाउने गरि अनावश्यक कुरा लगाएको एकाथरी काङ्ग्रेस कार्यकर्ताको बुझाइ छ ।

आफ्नो पहुँच देखाउदै बानियाँलाई देउवाको क्याम्पबाट बाहिर धकेल्ने योजना डिनाले गर्दै आएको कारण संसदीय दलको नेताको चुनावमा बानियाँलाई पराजित गराउन धेरै चलखेल गरिएको काङ्ग्रेसका एक प्रदेश सांसदले बताए । ‘पार्टी नेताकै खेल बुझिनसक्नु रहेछ,हामी त टुलु टुलु हेर्ने मात्रै भयौं’ ती सांसदले भने-‘पार्टीमा पहुँच हुनेले अन्य नेताकार्यकर्तालाई केही पनि होइनन् जस्तो व्यबहार गर्नथालेको आभास हुनथालेको छ ।’

गएको पुस १३ गते मकवानपुरको हेटौंडामा दुवै संस्थापन पक्षकै नेता प्रतिस्पर्धामा उत्रनु पनि डिना र बानियाँको ‘इगो’ नै कारण बन्यो । पार्टी सह-महामन्त्री डिनाकै डिजाइनमा पार्टी भित्रकै आन्तरिक चुनाव पनि कांग्रेस र अन्य पार्टीबीचको जस्तो माहोल खडा गरिएको नेताकार्यकर्ताको भनाइ छ । बानियाँ हराउन हात धोएर लागेकी डिनाले जुनसुकै अवस्थामा पनि बानियाँले हार्नुपर्ने भन्दै साम,दाम, दण्ड, भेद सबै उपाय अवलम्बन गरेको एक नेताले बताए ।

बागमती प्रदेशमा कांग्रेसबाट ३७ सांसद छन् । संसदिय दलको नेताको चुनाव अघि बागमती प्रदेश सभापतिसमेत भएकाले बानियाँले सबैलाई हेटौंडाकै विभिन्न होटलमा बस्ने व्यवस्था मिलाएका थिए ।

तर, सहमहामन्त्री डिनाले २२ सांसदलाई लिएर निर्वाचनको अघिल्लो रात चितवनको सौराहको एक रिसोर्टमा पुगेको चर्चा भयो । उनीहरू सबै मतदानका बेला मात्र हेटौंडा पुगेको र डिनाकै योजना अनुसार मतदान गरेको कुरा पनि बाहिर आएको छ । सुरुमा सहमतिमै दलको नेता छान्ने प्रयास गरियो । तर, त्यो प्रयासलाई जानीजानी असफल बनाएर एक घन्टा ढिलो गरी निर्वाचन गराइयो ।

निर्वाचन हुँदै गर्दा कडा निगरानी राख्ने देखि मत दिएको प्रमाण समेत खोज्ने भनेर केही सांसदलाई डिनाका समर्थकले प्रभावित पारेको समेत बुझियो । निर्वाचन परिणाममा लामा २१ मत ल्याएर विजयी भए । बानियाँले १६ मत मात्रै पाए ।  दलको निर्वाचनमा लामाले जितेको खुशी भन्दा पनि होटल एभोकाडोमा बसेका सहमहामन्त्री डिनासहित उनको पक्ष बानियाँलाई हराउन सफल भएको भन्दै खुसियाली मनाउन थाले ।

यो सबै दृश्यले नेपाली काङ्ग्रेसलाई कमजोर बनाएको कार्यकर्ताले चोक चोकमा भन्न थालेका छन् । होटलमै रहेका लामालाई सबैभन्दा पहिले डिनाका श्रीमान् दिनेश उपाध्यायले फूलको माला लगाइदिए । त्यसपछि अरुले बधाई दिएको समेत हेटौंडामा चर्चा छ । डिनाका श्रीमान तिनै भाग्यमानी हुन् जसलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुँदा गत असोज १४ गते राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेका थिए ।

कांग्रेस मकवानपुरका सामान्य कार्यकर्ता मात्रै रहेका उपाध्यायलाई पत्नी डिनाकै दबाबमा देउवाले अध्यक्षमा नियुक्त गरेका थिए । उपाध्याय चार वर्षका लागि नियुक्त भएका हुन् । २०७४ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा पराजित उपाध्यायलाई श्रीमतीकै दबाबमा बिमा कम्पनीको अध्यक्षमा नियुक्त गरिएको भन्दै कांग्रेसमा असन्तुष्टि उत्पन्न भएको छ । कांग्रेसको पकड रहेको हेटौंडा उपमहानगरपालिका वडा नम्बर-२ मा उठेका उपाध्याय त्यतिबेला लज्जास्पद ढंगले पराजित भएका थिए ।

लामालाई बधाई दिएसँगै होटल एभोकाडोमा डिजे डान्स समेत भएको चर्चा पनि छ । बिदेशी ब्रान्डका रक्सी र बियर खाएर डिना पक्षका नेताकार्यकर्ता र केही प्रदेश सांसदहरू नाचेका थिए । पार्टीकै एउटा नेतालाई पराजित गरेको खुसियालीमा अर्को पक्षले डिजे डान्स सहित खुशी मनाउनु दु:खद भएको काङ्ग्रेसका एक जिल्ला नेताको भनाइ छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...