पाल्पा: गन्तव्यमा पुग्नै लाग्दा बस भिरबाट खस्यो, ६ महिलाको मृत्यु

पाल्पा, २२ पुस । पाल्पाको खुर्सानेमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका-८ खुर्सानेमा बुधबार राति भएको दुर्घटनामा कम्तिमा १५ जना घाइते छन् ।
रूपन्देहीको सालझण्डीबाट पाल्पाको खुर्सानेका लागि छुटेको ग १ ख ४९७७ नम्बरको बस टारीफाँटनजिकै राधादीगैरामा दुर्घटनामा परेको हो । स्थानीयका अनुसार बस गन्तव्यमा पुग्न केही दुरी बाँकी रहँदा उक्त दुर्घटना भएको हो ।
रातको समयमा बस सडकबाट करिब ५० मिटर तल भिरमा खसेको थियो । मृतक ६ जनामध्यै सबै महिला रहेका छन् । घाइतेमध्ये पनि अधिकांश महिला छन् ।
घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको जनाइएको छ ।

