वैदिक अनुसन्धान समितिको साधारणसभा सम्पन्न

काभ्रे, १६ पुस । वैदिक अनुसन्धान समितीको नवौं बार्षिक साधारणसभा काभ्रेको भुम्लु स्थित आँपघाट आश्रममा सप्पन्न भएको छ । साधारणसभामा बोल्दै भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले सबै धर्म,संस्कृति एवं धार्मिक क्षेत्र र धार्मिक ज्ञानलाई संरक्षण गर्नु आजको आबश्यकता भएको बताए ।
उनले धर्म र दर्शनलाई एकसाथ जोडेर समाज विकासमा लाग्नुपर्नेमा जोड दिदै सबैको धार्मिक आस्थाको सम्मानले समाज निर्माणमा कोशेढुङ्गा सावित हुने औंल्याए । आफ्नै क्षेत्रमा धार्मिक वैदिक गुरुकुल आश्रम खुल्नु सुखद पक्ष भएको भन्दै अध्यक्ष भुजेलले यो पवित्र स्थल र ज्ञानको भन्डारलाई आफुले सक्दो सहयोग गर्ने समेत बताए ।
सोही कार्यक्रममा माधव बिडारीद्वारा लिखित ‘अनन्त यात्रा’उपन्यास लोकार्पण गर्दै अध्यक्ष भुजेलले ज्ञानको भन्डार बिस्तारमा पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरे ।
कौशिकी वैदिक गुरुकुल आश्रम भुम्लु-६आँपघाट काभ्रेमा आयोजित कार्यक्रमा संस्थाका पदाधिकारी,सल्लाहकार,साहित्यीक ब्यक्तित्व लगाएतले वैदिक धर्मको संरक्षण र सम्बर्द्धनमा गुरुकुल आश्रमले पुर्याएको योगदान स्वागतयोग्य भएको चर्चा गरे ।

संस्थाका अध्यक्ष रामचन्द्र तिमिल्सिनाले धर्म संस्कृतिको संरक्षण र सम्बर्द्धनसङ्गै वैदिक अनुसन्धान र गुरुकुल शिक्षाको माध्यमबाट आश्रमले काम गरिरहेको बताए । उनले आश्रमलाई अझै ब्यबस्थित गरी गुरुकुल शिक्षालाई प्रभावकारी ढंगले संचालन गर्न आइपरेको कठिनाइ बारे सरकारी निकायले चासो देखाउनुपर्नेमा जोड दिए ।
नवौं बार्षिक साधारणसभामा संस्थाका सचिव शिवप्रसाद ढकालले कार्यक्रम संचालन र संस्थाले गरेका कामहरू बारे जानकारी गराएका थिए । त्यसैगरी संस्थाका कोषाध्यक्ष जगन्नाथ खनालले संस्थाको बार्षिक आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
संस्थामा गाउँपालिका र ब्यक्ति तथा संस्थाबाट ९ लाख रुपैयाँ सहयोग प्राप्त भएको र १२ लाख भन्दा बढी खर्च भएको प्रतिबेदनमा उल्लेख छ । गुरुकुलमा आफ्नै गौशाला(गाइपालन), आश्रम भवन र विद्यालय भवन छ ।
हाल आश्रममा २ शिक्षक र १२ जना विद्यार्थी अध्यनरत छन् । कोशी किनारमा रहेको यो आश्रम पुग्न काठमाडौ देखि दोलालघाट र त्यहाँबाट ७ किमि दक्षिण-पुर्व जानुपर्छ । यहाँ पुग्ने जो कोहिले आश्रम र यहाँको संस्कार देखेर प्रभावित हुने सहभागीले बताए ।




