पत्रकार जिवराम भण्डारी सम्मानित

काठमाडौं, ११ पुस । वरिष्ठ पत्रकार जीवराम भण्डारी हेम-सरिता फाउन्डेसनद्वारा संचालित अन्तर्राष्ट्रिय स्तरको ‘टंकप्रसाद-रमादेवी पाठक’ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । पुरस्कारको राशी २ हजार अमेरिकी डलर अर्थात नेपाली दुई लाख ६० हजार रुपैयाँ सहित सम्मान-पत्र रहेको छ ।
सोमबार काठमाडौँको नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्यले भन्डारीलाई टंकप्रसाद-रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट सम्मानित गरेका हुन् । भन्डारी लामो समयदेखि नेपालको टेलिभिजन पत्रकारितामा सक्रिय छन् ।

कार्यक्रममा फाउन्डेसनले हेम-सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार र भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कार समेत प्रदान गरेको छ । सो पुरस्कारबाट क्रमशःनवीन पौडेल र मनोज विश्वकर्मा सम्मानित भए । सङ्गीत र कवीता पुरस्कारको राशी जनही १ हजार डलरको रहेको छ ।
फाउन्डेसनले विद्यालय भवन र व्यवस्थापन हस्तान्तरण र भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता पुस्तक लोकार्पण समेत गरेको थियो । कार्यक्रम हेम-सरिता फाउन्डेसन, अन्तर्राष्ट्रिय समितिका अध्यक्ष जेनी पाठकको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सम्मानित ब्यक्तित्व पत्रकार भन्डारीले यो सम्मानले आफुलाई उर्जा र हौसला मिलेको भन्दै भ्रष्टाचार विरुद्ध असल पत्रकारीता गर्दै समाज रुपान्तरणमा अझै दृढतापुर्वक उभिने बताए ।
सो कार्यक्रममा प्रमुख अतिथि हरिवंश आचार्य, संस्थाकि अन्तर्राष्ट्रिय च्यापटर अध्यक्ष जेनि पाठक,नेपाल शाखा अध्यक्ष राधेश्याम लेकाली,माओवादी केन्द्रका नेता दिननाथ शर्मा,नेपाली काङ्ग्रेसका नेता डा.शोभाखर पराजुली,एमाले नेता रामेश्वर फुयाल,राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र,फाउन्डेसनका सल्लाहकार एवं बरिस्ठ लोक गायक प्रेमराजा महत लगाएतले पुरस्कृत ब्यक्तित्वलाई बधाई सहित आफ्ना धारणा राखेका थिए ।

हेम-सरिता फाउन्डेसनको स्थापना सन् २०११ मा अमेरिकामा भएको हो । यो संस्थाले भ्रस्टाचार निर्मुल पार्दै देशलाई शान्ति र समृद्धिको अभियानमा अगाडी बढाउने उदेश्य राखेको छ ।
साथै बिद्यालयको भौतिक विकास र शैक्षिक गुणस्तर एवं विद्यार्थीलाई विभिन्न सहयोग समेत गर्दै आएको छ ।



