सरकार गठनको कसरत !

काठमाडौं, ७ पुस । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले शपथ लिएसँगै नयाँ सरकार गठनको कसरत सुरु भएको छ । गएको मंसिर ४ को निर्वाचनबाट निर्वाचित सांसदहरुले बिहिबार शपथ लिएका छन् ।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले शपथ खुवाएपछि दलहरू राष्ट्रपति विद्यादेवी भण्डारीबाट नयाँ सरकार गठनको लागि दिइएको आइतबारसम्मको समय सीमाभित्र सरकार गठनको छलफलमा छन् । यद्यपि औपचारिक/अनौपचारिक भेटघाटबाहेक दलहरूले सरकार गठनको प्रक्रियामा प्रवेश गरेका छैनन् ।
मुख्यगरी हालको गठबन्धनभित्रैका दलहरूले सरकार बनाउने कसरत गरिरहेका छन् भने एमाले, राप्रपालगायत दलको पनि सरकार गठनमा चासो छ । नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी पनि सरकारमा सहभागी हुन खोजिरहेका छन् । तर, नयाँ दलहरु कुन गठबन्धनमा सहभागी हुन्छन् त्यसको टुंगो छैन ।
हालको सत्ता गठबन्धनभित्र केही सिट अपुग हुँदा त्यसलाइ जनमत र जसपालाई समेट्ने तयारी छ भने एमालेले गठबन्धन फुटाएर माओवादी आएमा ३ वर्ष सरकारको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिन तयार भएको भन्ने सन्देश प्रचण्ड निवासमा पुर्याएको चर्चा छ ।
स्रोतका अनुसार माओवादीले भने एमालेसँग तत्काल मिलेर सरकार गठन हुने कुरा सोचेको छैन । ‘यो प्रयास भएको होला तर औपचारिक रूपमा पार्टीमा आएको छैन’, माओवादीका एक पदाधिकारी भन्छन्- ‘एमालेसँग मिल्नै हुन्न भन्ने चाहिँ होइन तर तत्कालै मिल्ने भन्ने पनि होइन ।’
हालको सत्ता गठबन्धन बिचमा भागबन्डा गर्दा राष्ट्रपति, उपराष्टपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखसमेत सकेसम्म मुख्य मन्त्रालय समेत एकैपटक प्याकेजमा टुंगो लगाउन दबाब छ ।
यो विषयमा प्रवेश गर्न नै कठिन भएकोले दलहरू अनौपचारिक छलफलमा मात्रै छन् । माओवादीले प्रधानमन्त्री सुरुमै मागेको छ । यद्यपि काङ्ग्रेसले प्रधानमन्त्री छाड्ने देखिन्न ।
नेपाली काङ्ग्रेसले राष्ट्रपतिसमेत आफैं लिएर प्रधानमन्त्री पनि हुने दाउमा छ भने माओवादीले राष्ट्रपतिलाई भन्दा प्रधानमन्त्री र सभामुख दुवै लिन खोजेको देखिन्छ ।
उता एकीकृत समाजवादीले पनि राष्ट्रपतिसहित १ वर्ष भएपनि प्रधानमन्त्री हुनुपर्ने दाबी राखेको स्रोतको भनाइ छ ।

