काठमाडौं जिल्ला अदालतको शौचालयबाट थुनुवा भागेपछि…

काठमाडौं, ७ पुस । काठमाडौंको सोह्रखुट्टेस्थित प्रहरी वृत्तको हिरासतमा रहेका एकजना थुनुवा फरार भएका छन् ।
बुधबार दिउँसो करिब ३ बजेको समयमा जिल्ला अदालत काठमाडौंबाट आरोपी भारतीय नागरिक १९ वर्षीय सचिन कुमार फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
अदालत पुगेका बेला शौचालय गएका उनी धेरै बेरसम्म नआएपछि प्रहरीले फरार भएको भन्दै खोजी सुरु गरेको छ । उनलाई कतै देखेमा प्रहरीमा खबर गर्न अनुरोध गरिएको छ ।
सचिन केही समयअगाडि लागु औषध नाइट्राभेटसहित पक्राउ परेका थिए । उनीमाथिको अनुसन्धान सकेर मुद्दा बुझाउने तयारी रहेको थियो ।

