गायक नवीन के भट्टराईको साथमा विश्वकपको फाइनल हेर्न पाइने

काठमाडौं, ३ पुस । कतारमा जारी फिफा विश्वकपको फाइनल खेल आज हुँदै छ । राति पौने ९ बजेदेखि सुरु हुने खेल काठमाडौंमा गायक नवीन के भट्टराईको साथमा बसेर हेर्न पाइने भएको छ ।
काठमाडौको गोकर्णेश्वर आरुवारी नजिकै रहेको गोकर्ण हिलसाइड रिसोर्टले विश्वकप फुटबलको उपाधि भिडन्त र त्यसअघि गायक नवीन के भट्टराईको सुमधुर आवाज सुन्न सकिने मेसो मिलाएको हो ।
रिसोर्टका संचालक मध्यका एक युवा व्यवसायी सन्जिव चालिसेले घरभन्दा बाहिर बसेर रमाइलो गर्दै वर्ल्डकप हेर्न चाहने फुटबल पारखीलाई यो अवसर जुटाएको बताए । ‘खेल हेर्न बसेपछि हुटिङ गर्नु, स्वादिलो परिकार खानु र साथीभाइ जमघट हुनु सबैको चाहना हो’, उनले भने- ‘यसमाथि गायकसँगै झुम्नुको मज्जा बेग्लै हुन्छ भनेर यो व्यवस्थापन मिलाइएको हो ।’
विश्वकपको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्नेछन् । कतारको लुसेल स्टेडियममा हुने खेल रोचक हुने देखिन्छ । त्यो भन्दा अगाडी नवीन के भट्टराईको प्रस्तुतिले थप मनोरञ्जन दिने सन्जिवले बताए ।
अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३-० गोलअन्तरले हराउँदा साविक विजेता फ्रान्सले मोरक्कोलाई २-० गोलअन्तरले हराएर फाइनल भिडन्त पक्का गरेका थिए ।
हालसम्म दुवै टोलीले दुई-दुईपटक विश्वकप फुटबलको उपाधि जितेका छन् । फ्रान्सले यसअघि २०१८ को विश्वकप जितेको थियो । त्यसअघि सन् १९९८ मा पनि उपाधि जितेको थियो ।
सन् २०१८ को विश्वकप फुटबलमा अर्जेन्टिनालाई अगाडी बढ्न फ्रान्सले नै रोकेको थियो । हेरौ अहिले त्यसको बदला कसरी लिनसक्छ । उपाधी भिडन्तमा देश भन्दा बढी चर्चा खेलाडीले पाएका छन् ।
अर्थात् फ्रान्सका एम्बाप्पे र अर्जेन्टिनाका मेसी मध्य कसले आफ्नो टिमलाई उपाधी दिलाउछ अब केही घन्टा प्रतीक्षा गर्नैपर्छ ।

