विश्वकप फाइनल भिडन्त: एमबाप्पेको गतिसामू मेस्सीको जादुमय उपस्थिति
मेस्सीका लागि अविस्मरणिय बन्न सक्छ अन्तिम विश्वकप
प्रतिक भट्ट । कतारमा जारी फिफा विश्वकप फुटबल समापनको संघारमा छ । अब केवल दुई खेल मात्र बाँकी रहँदा सबैको नजर भने फाइनल खेलमै रहनेछ । उपाधिका लागि आइतबार राति अर्जेन्टिना र फ्रान्स भिड्दै छन् ।
हालसम्म दुवै टोलीले दुई-दुईपटक विश्वकप फुटबलको उपाधि जितेका छन् । त्यसमाथि पनि फ्रान्स त साविक विजेता नै हो, त्यसअघि फ्रान्सले सन् १९९८ मा उपाधि जितेको थियो ।
अर्जेन्टिनाका कप्तान एवम् सर्वकालीन महान खेलाडी लियोनल मेस्सीले यस विश्वकप आफ्नो अन्तिम रहेको बताइसकेका छन् अर्थात् आइतबार रातिको खेल उनको अन्तर्राष्ट्रिय खेल जीवनकै अन्तिम खेल हुने लगभग निश्चित छ ।
उक्त खेलमा पराजित भएमा दुःखद र विजयी भएमा सुखद क्षणसहित मेस्सीले पाँच संस्करण खेलेर सक्दा विश्वकप फुटबलबाट बिदा लिनेछन् । आइतबार हुने फाइनल खेलमा मेस्सीले सदाझैं आफ्नो जादुमय खेल प्रस्तुत गर्दै टोलीलाई आफ्नो नेतृत्वमा उपाधि जिताउने धुनमा हुने छन् ।
यता साविक विजेता फ्रान्स लगातार दोस्रोपटक उपाधि जितेर समग्रमा तेस्रोपटक विश्वकपको उपाधि उचाल्न चाहन्छ । युवा फरवार्ड किलियन एमबाप्पेको भूमिका फ्रान्सका लागि महत्वपूर्ण रहनेछ ।
गतिमा कुनै कमी नभएका एमबाप्पेलाई एन्टोइन ग्रिजम्यान र ओलिभर जिरुडले अगाडि उत्तिकै साथ दिइरहेका छन् । यस्तोमा फ्रान्स र अर्जेन्टिनाबीचको खेल ‘नेक-टु-नेक’ कै अवस्थामा रहने निश्चित छ ।
सन् २०१८ को विश्वकप फुटबलको अन्तिम १६ मा अर्जेन्टिना फ्रान्ससँग ४-३ गोलअन्तरले पराजित हुँदै बाहिरिएको थियो । त्यसबेला एमबाप्पेले शानदार दुई गोल गरेका थिए ।

सनु २०२२ सम्म आइपुग्दा अर्जेन्टिनाको टोली त्यसबेलाभन्दा मजबुत अवश्य बनेको छ । टोलीमा गोलरक्षक एमिलियानो मार्टिनेजले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् विशेषगरी पेनाल्टी सुटआउटमा प्रहार विफल पार्न उनी माहिर देखिएका छन् ।
फाइनल खेलमा गतिका राजा एमबाप्पे र जादुमय खेल प्रस्तोता मेस्सीबीच मुख्य प्रतिस्पर्धा देखिन्छ । उमेरले २३ वर्ष मात्र रहेका एमबाप्पे सानै उमेरमा लगातार दोस्रो विश्वकप जित्ने संघारमा पुग्दा मेस्सी भने सन्यासअघि टोलीलाई यस उपाधि जिताउन चाहन्छन् ।
यस विश्वकपमा एमबाप्पे र मेस्सी दुवैले ५-५ गोल गरेर गोल्डेन बुटका लागि दाबेदारी प्रस्तुत गरेका छन् । फाइनलमा गर्ने गोलका आधारमा नै गोल्डेन बुटको छिनोफानो हुनेछ । एसिस्टमा भने मेस्सी अगाडि छन् ।
एमबाप्पेको विस्फोटक गतिलाई रोक्न अर्जेन्टिनाले स्पष्ट योजना तयार गर्नुपर्ने हुन्छ । यता मेस्सीले भने आफ्नो जादुमय उपस्थितिमा डिफेन्डरहरुलाई चक्मा दिएर शानदार एसिस्टहरु प्रदान गर्दै आइरहेका छन् र उनलाई राम्रो साथ मिलिरहेको छ ।

दुवै टोलीबाट सबै खेलाडीहरुको प्रदर्शन प्रशंसायोग्य रहेको छ । अर्जेन्टिनाका युवा स्ट्राइकर जुलियन अल्भारेज युवा मिडफिल्डर एन्जो फर्नान्डेज र एलेक्सिस म्याक एलिस्टरले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
यता फ्रान्सका फरवार्ड ओलिभर जिरुड एन्टोइन ग्रिजम्यानले राम्रो प्रदर्शन गर्दा २२ वर्षीय ओरेलियन चुआमेनी मिडफिल्डमा यति प्रभावशाली देखिएका छन् कि टोलीमा घाइते पल पोग्बा र एन्गोलो कान्टेको अभाव खड्किएको छैन ।
दुवै टोली डिफेन्समा पनि उत्तिकै शानदार देखिएका छन् । यस्तोमा यी दुई टोलीबीचको फाइनल खेल सम्झनलायक रहने आकलन धेरैले गरेका छन् ।
सन्यासको संघारमा रहेका मेस्सीले टोलीलाई उपाधि जिताएर अविस्मरणिय विश्वकपको सुखद अन्त्य गर्न चाहनेछन् भने एमबाप्पे २३ वर्षको उमेरमै दुई विश्वकप जितेर अर्को सनसनी मच्चाउन आतुर छन् ।

