दिगो विकासको पर्खाइमा प्रणवानन्द आश्रम

परेवान्युज

काठमाडौं, १ पुस । नेपालमा धेरै आश्रम र अनाथालय एवं गुरुकुल खुलेका छन् । सडक बालबालिकादेखि असहाय जेष्ठ नागरिकका लागि पनि थुप्रै संस्थाले काम गरिरहेका छन् ।
तर, कतिपय संस्थाको उदेश्य र गरिरहेको काम फरक छ । एउटा उदेश्य राखेर संस्था दर्ता तर, ठिक विपरित काम हुने गरेका प्रशस्त उदाहरण छन् ।

त्यस्ता संस्थालाई नेपाल सरकारले बेला-बेलामा निगरानी र अनुगमन पनि गर्दछ । त्यति हुँदा पनि कतिपय संस्थामा संचालकहरुको बेवास्ता र लापरबाहीले गर्दा राम्रो काम गर्ने संस्थालाई समेत असर पुगेको देखिन्छ । कहिलेकाहीँ उदेश्य भन्दा फरक व्यवहार पाइएपछि बालबालिका केन्द्र र वृद्धाश्रमबाट बालबालिका र ज्येष्ठ नागरिकलाई उद्दार गर्नुपरेको उदाहरण पनि भेटिन्छ । उदेश्य एउटा देखाएर काम अर्को गर्नु गलत र अमानवीय पक्ष पनि हो ।

तर, काठमाडौं कुमारीगालस्थित गौरीघाटमा रहेको प्रणवानन्द आश्रम तथा विद्या मन्दिरको भने उदेश्य र काम गज्जब लाग्छ । अर्थात यस संस्थाले जे उदेश्य राखेर आश्रम र विद्या मन्दिर खोलेको छ काम ठ्याक्कै त्यही अनुरुप गरिरहेको छ । आश्रमको पहिलो उदेश्य: अनाथ तथा असहाय बालबालिकाको लालनपालन र शिक्षा दिक्षाको व्यवस्था गरी सुयोग्य र चरित्रवान नागरिक निर्माण गर्ने भन्ने छ ।

उदेश्यसँग मेल खाने गरी अहिले यो संस्थाले ४५ जना बालबालिकालाई आफ्नै आश्रममा बसोबास र शिक्षा दिक्षाको सबै जिम्मा लिएको छ । जहाँ ४५ जना त्यहीँ बसेर र एक सय भन्दा बढी बाहिरबाट आएर अध्ययन गरिरहेका छन् । यहाँ नर्सरीदेखि ७ कक्षा सम्म आफ्नै आश्रममा पढाइ हुन्छ भने बाँकी अध्ययनका लागि आश्रमले नै बाहिर व्यवस्थापन गर्नेछ ।

त्यसैगरी दोस्रो र तेस्रो उदेश्य सनातन आदर्श अवलम्बन गरी संरक्षण र सम्बर्द्धन गर्ने तथा भावी पुस्तामा आध्यात्मिक ज्ञानको प्रभाव विस्तार गर्ने भन्ने छ । यही उदेश्यसँग मेल खानेगरी आश्रमले बालबालिकालाई किताबी ज्ञान् बाहेक पनि धर्म, अध्यात्म, पाठ, भजनसहित गुणवान् र आत्मज्ञान् प्राप्त शिक्षा दिइरहेको छ । विहानको खाना खानु अगाडि भोजन मन्त्र, खाना पछि स्कुलको प्रार्थना र राष्ट्रियगान जस्ता कुराले बालबालिकालाई सत्कर्म र सत्धर्मको बाटो हिँड्न प्रेरित गर्ने देखिन्छ ।

प्रणवानन्द आश्रम तथा विद्या मन्दिरमा दाताहरूले एक मुठ्ठी चामल देखि आर्थिक र भौतिक सहयोग गर्न सकिने छ। आश्रममा सहयोग गर्न केही मनकारी मन हुनेहरूले इन्टरनेट मार्फत गुगल सर्च गरेर पनि आउने गरेका छन् भने कतिपयले आफ्नो जन्मदिन, वैवाहिक वर्षगाँठ र पितृहरुको पुण्यतिथि पारेर पनि आउने गरेका छन् ।

गुगल सर्च गरेरै आश्रममा सहयोग गर्न आएकी बागलुङकी जमुना निउरेले एकछाक पनिरसहितको खाना खुवाइसकेपछि भनिन्- ‘मैले धेरै संस्थालाई सहयोग गर्न चाहें तर उदेश्य र काम फरक देखेर मन खिन्न हुन्थ्यो । यो संस्थामा आएपछि मन पनि प्रफुल्ल भयो र अझै सकेको सहयोग गरौं भन्ने लाग्यो ।’ हाल बिदेशमा रहेकी निउरेले यो आश्रमको कुशल व्यवस्थापन देखेपछि विदेशमै पनि च्यारिटी वा टिप्सबक्स राखेर सहयोग जुटाउने प्रतिबद्धता समेत जनाइन् ।

त्यसैगरी आफ्ना हजुरबुवाको तिथिमा विगत ४ वर्षदेखि आश्रममा खाना खुवाउँदै आएका बौद्धका मिना सिलवाल र कबिता कार्की दिदिबहिनीले पनि आश्रममा आएर एकदिन बालबालिकालाई खाना खुवाउने र भेटघाट गर्ने कुराले हजुरबुवाको आत्मा खुशी भएको अनुभुति हुने सुनाए । उनीहरुले यो कार्य हरेक वर्षको पुण्यतिथिमा गर्दै जाने र अन्य साथी तथा सहयोगी भावना हुनेलाइ समेत लिएर आउने बताए ।

भारतको हरियाणाबाट नेपाल घुम्न आएका बिनोदकुमारले समेत आश्रमको बारेमा सुनेपछि आमाको वार्षिक पुण्यतिथीमा भोजन व्यवस्थापनको खर्च व्यहोरेर गए । यस्ता मनकारी मनहरु प्राय:आउने भएपनि आश्रमलाई दिगो रुपमा आम्दानी वा ट्रस्ट बनाउने कुरामा भने अझै सहयोग जरुरी रहेको प्रिन्सिपल राजाराम यादवले बताए । यसका लागी मनकारी मनहरुको खोजी अझै रहेको उनको भनाइ छ ।

अहिले आश्रममा आउनेहरुले एक छाक खानादेखि आफुले सक्ने आर्थिक समेत दिएर जाने गरेका छन् । तर, यो दिगो भने होइन । ‘कोहि आउँदा खुवाउने नत्र नखुवाउने भन्ने हुँदैन’ प्रिन्सिपल यादव भन्छन्- ‘त्यसैले मन भएका दाताहरूले कोषबृद्धीकोलागी केही रकम जुटाउन सहयोग गरेमा आभारी हुने थियौं ।’

सहयोगका लागि आश्रमले एकछाक साधारण भोजन गराउन ५ हजार १ रुपैयाँ, एकछाक साधारण भोजन खिर सहितको लागी ६ हजार १ र एक छाक खाना पनिर सहित ७ हजार ५ सय १ रुपैयाँ सहयोग गर्न सकिने बताएको छ ।

योबाहेक पनि मनकारी ब्यक्तिहरुले आश्रममा रहेका बालबालिकाको लागि खाद्यान्न र शैक्षिक सामाग्री पनि सहयोग गर्न सक्ने आश्रमका प्रिन्सिपल यादवले बताए । साथै एकमुष्ट २५ हजार वा सो भन्दा माथि दान गर्ने ब्यक्तिको नाम शिलालेखमा लेखिने पनि उनले परेवान्युजलाई बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय