ठमेल क्षेत्रका अव्यवस्थित तार काट्न थालियो

काठमाडौं, २६ मंसिर । प्रमुख पर्यटकीय क्षेत्र मानिएको काठमाडौंको ठमेलमा अव्यवस्थित रुपमा रहेका इन्टरनेट र टेलिफोनका तार काट्न थालिएको छ । सोमबारदेखि ठमेल क्षेत्रका अव्यवस्थित तार हटाउन थालिएको हो ।

ठमेल पर्यटन विकास परिषद्ले ठमेललाई सफा र व्यवस्थित बनाउन जथाभावी छरिएर रहेका इन्टरनेटका तार काट्न शुरु गरेको हो । परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेलभित्र यत्रतत्र छरिएर रहेका तारका कारण ठमेलभित्रको सौन्दर्यमा असर परेकाले तार काट्न शुरु गरिएको जानकारी दिए ।

‘चार दिनदेखि विभिन्न इन्टरनेट प्रदायक कम्पनीसँगको सहकार्यमा ठमेलभित्रको विद्युतका खम्बामा लत्रिएका र आवश्यकताभन्दा बढी रहेका तार काट्न शुरु गरेका हौं’, उनले भने ।

ठमेल पर्यटन विकास परिषद्को बैठक बसेर तार काट्ने तथा व्यवस्थापन गर्ने काम शुरु गरिएको उनको भनाइ छ । परिषद्ले सातघुम्ती हुँदै सोह्रखुट्टे, क्वाःबहाल हुँदै ज्याठा, नरसिंह चोक हुँदै भगवती मार्गलगायतका क्षेत्रमा तार व्यवस्थापन कार्य शुरु गरेको परिषद्का अध्यक्ष भविश्वर शर्माले जानकारी दिए ।

नेपाल भ्रमणका लागि आउने ८० प्रतिशत व्यक्ति ठमेल घुम्न आउने गरेका छन् । ठमेल काठमाडौँ महानगरपालिकाको वडा नं १६, १७, २६ र २९ वडाभित्र पर्दछ ।

ठमेल पर्यटन परिषद्भित्र दुई हजार दुई सय व्यवसायी तथा घरधनी आबद्ध छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय