सांसद नपाए आत्महत्या गर्छु: साह

परेवान्युज

काठमाडौं, २५ मंसिर । मधेश प्रदेशमा एक समानुपातिकतर्फका उम्मेदवारले आफुले सांसद नपाए आत्महत्या गर्ने चेतावनी दिएका छन् । उनले पार्टी अध्यक्षले श्रीमतीलाई सिफारिस गरेर आफुलाई हटाएको भन्दै निर्वाचन आयोगमा उजुरी दिन उनी काठमाडौं आइपुगेका छन् ।

मधेस प्रदेशमा जम्मा एक सिट पाएको नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले आफ्नै श्रीमतीलाई सिफारिस गरेपछि सो पार्टीका नेता कमलेश्वर प्रसाद साहले आत्महत्याको धम्की दिएका हुन् ।

पुर्व कर्मचारी रहेका साह सर्लाहीको कविलासी नगरपालिका- ७ का बासिन्दा हुन् । आफ्नो नाम सिफारिस नगरेको थाहा पाएलगत्तै उनी काठमाडौं आएर निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।

साहले रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरी न्यायका लागि गुहार समेत मागेका छन् । निर्वाचन आयोगले कानून बमोजिम न्याय नदिए आफुले आत्महत्या गर्ने पत्रकार सम्मेलनमा बताए ।

रिजवन अन्सारीको पार्टीमा लाग्नु अगाडि साह लघुवित्त संस्थामा कार्यरत थिए । अध्यक्ष अन्सारीले मधेसी कलस्टरमा प्राथमिकतामा राखेर सांसद बनाउँछु भनेपछि मात्र उनी जागिर छाडेर राजनीतिमा लागेको बुझिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय