लक्की शेर्पा यसरी बनिन् जनावरको लागि ‘लक्की’
परेवान्युज
सोलुखुम्बु जिल्लामा जन्मिएकी लक्की शेर्पा अहिले काठमाडौंको नारायणटार बस्छिन् । एकल महिला रहेकी लक्कीको नाम र काममा धेरै फरक छ । अर्थात नाममा ‘लक्की’ भएर पनि उनी आफू कुनैपनि कुरामा लक्की नभएको बताउँछिन् ।
लक्कीको कुनै जागिर, पेन्सन वा नियमित आम्दानीको स्रोत समेत छैन । उनी यहाँकी धनाढ्य वा हुनेखाने पनि होइनन् । उनी आफैं बस्ने-खाने समेत ठेगान नभएकी महिला हुन् । तर, उनीभित्र कोमल हृदय र परोपकारी भावना छ ।
मानिसको लागि मात्रै होइन उनी जनावरको लागि समेत मनकारी छिन् । उनको नाम ‘लक्की’ उनलाई भन्दा काठमाडौं गौरीघाट र पशुपति क्षेत्रमा डुल्ने भुस्याहा कुकुर र बाँदरको लागि ‘लक्की’ भएको छ । विगत १३ वर्षदेखि लक्कीले यहाँका कुकुर र बाँदरको लागि भोजन व्यवस्थापन गरिरहेकी छिन् ।
आफुसँग खाने अन्न नहुँदा पनि उनले मागेर जनावरलाई खुवाउँदै आएकी छिन् । उनले हप्तामा २ पटक आफ्नो भान्सामै खाने कुरा पकाएर यहाँको जनावरलाई खुवाउने गरेको बताइन् । ‘मैले आफू नखाएर पनि यी कुकुर र बाँदरलाई खुवाउँदै आएको छु’ उनले परेवान्युजसँग भनिन्- ‘नाम त मेरो ‘लक्की’ थियो तर, आफ्ना लागि कहिल्यै लक्की हुन सकिनँ । कहिलेकाहीँ आफ्नै नाम देखेर रिस पनि उठ्छ ।’
लक्कीले पहिले विहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म एउटा सामान्य अफिसमा काम गर्थिन् । तर, काम गर्दा कुकुरलाई खाना जुटाउन र पकाएर खुवाउन नभ्याउने भएपछि उनले त्यही जागिर पनि छाडिन् । ‘म पहिले जागिर गर्थें’, उनले भनिन्- ‘जागिरले गर्दा कुकुरलाई खुवाउन नसक्ने र नभ्याउने भएपछि त्यो पनि छाडें ।’

उनले दैनिक १०० वटा सम्म कुकुरलाई खाना खुवाउनु परेको र त्यसभन्दा पनि बढी दु:ख कुकुरले थप छाउरा(बच्चा) जन्माउन थालेपछि भएको बताइन् । उनले भुस्याहा कुकुरले थप बच्चा नजन्माओस भनेर बन्ध्याकरणको सुइ पनि लगाइदिने गरिन् । सुइ लगाउन समेत प्रतिगोटाको २५० लाग्ने भएपछि उनलाइ थप आर्थिक समस्या आइलाग्यो । त्यसपछि आफैं सिकेर उनी सुइ लगाउन समेत थालिन् ।
उनको यो अभियानमा ठुला सहयोगदाता भेटिएका छैनन् । कहिलेकाहीँ फाट्टफुट्ट सपोर्ट आउने गरेको उनको भनाइ छ । उनलाई यो सबै जुटाउन अर्थात् महिनामा चामल, कनिका, मासु गर्दा पैसा धेरै चाहिन्छ । यसका लागि कुनै दिलदार सहयोगदाता भेटिए पनि आफु बल्ल ‘लक्की’ हुन सक्थें भन्ने उनको बुझाइ छ । पछिल्लो समय अर्काको घरमा काम गरेर ल्याएर कुकुरलाई खुवाउने उनको दैनिकी भएको छ ।
‘कोहि मनकारी दाता भेटिएर चामल,मासु मात्रै जुटाइदिए बरु आफैं दु:ख गरेर पकाएर खुवाउँथे’ उनले भनिन्- ‘कुनैबेला म बिरामी भएर खानेकुरा जुटाउन नसक्दा यी कुकुर भोकै हुन्छन् भन्ने पिरले मन पोलिरहन्छ ।’

