लिग २ क्रिकेटमा नामिबियासँग नेपालको फराकिलो हार

काठमाडौं, २१ मंसिर । आईसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ ।

नेपाललाई नामिबियाले ८६ रनले हराएको हो । नामिबियाले दिएको २७६ रनको बलियो लक्ष्य पछ्याएको नेपालले ४६.५ ओभरमा अलआउट हुँदै १८९ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४४ रनको योगदान दिँदा दीपेन्द्रसिंह ऐरीले ३४ तथा ज्ञानेन्द्र मल्लले ३० रन बनाए । नामिबियाका जेजे स्मिट, ताङ्गेनी लुङ्गामेनी र पिक्की या फ्रान्सले २-२ विकेट लिँदा रुबेन ट्रम्पलमेन, बर्नार्ड स्कोल्ज र माइकल भान लिन्जेनले १-१ विकेट लिए ।

त्यसअघि विन्डहकमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले नेपाललाई बलियो लक्ष्य प्रस्तुत गरेको थियो । नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७५ रन बनाएको थियो ।

उसका लागि माइकल भान लिन्जेनले शतकीय पारी खेले । उनले १११ बलमा १५ चौका र एक छक्कासहित ११९ रन बनाए । त्यसैगरी कप्तान जेरार्ड इरास्मसले ५३ रनको योगदान दिए भने जान निकोल लफ्टी इटनले ४० रन बनाए ।

नेपालका ललित राजवंशीले चार विकेट लिँदा सोमपाल कामीले दुई र सागर ढकालले एक विकेट लिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय