भान लिन्जेनको शतकमा नामिबियाद्वारा नेपाललाई बलियो लक्ष्य

काठमाडौं, २१ मंसिर । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले नामिबियासँग खेलिरहेको छ ।
विन्डहकमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले नेपाललाई बलियो लक्ष्य प्रस्तुत गरेको छ । नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७५ रन बनायो ।
उसका लागि माइकल भान लिन्जेनले शतकीय पारी खेले । उनले १११ बलमा १५ चौका र एक छक्कासहित ११९ रन बनाए । त्यसैगरी कप्तान जेरार्ड इरास्मसले ५३ रनको योगदान दिए भने जान निकोल लफ्टी इटनले ४० रन बनाए ।
नेपालका ललित राजवंशीले चार विकेट लिँदा सोमपाल कामीले दुई र सागर ढकालले एक विकेट लिए ।
नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रने छ ।

