चलचित्र ‘पासो’ पहिलो शो नै ‘शून्य’

काठमाडौं, १७ मंसिर । शुक्रबारदेखि प्रदर्शनमा आएको नयाँ नेपाली चलचित्र ‘पासो’ रिलिज भएकै दिन पहिलो शो मै दर्शक नआएपछि आफैं ‘पासो’मा परेको छ ।
सोलो रुपमा रिलिज भएको यो फिल्मले मल्टीप्लेक्समा थोरै शो पाएको थियो । यद्यपि ती शो पनि कुनैमा न्यून दर्शक मात्रै पायो भने कुनैमा चल्दै चलेन ।
रिलिज भएकै दिन बिहान ११:३० को विश्वज्योती हलमा यो फिल्मले दर्शक नै पाएन । त्यसैगरी १२:१५ को बिग मुभिज सिटी सेन्टरमा ५ जना मात्रै दर्शकले फिल्म हेरेका छन् ।
आर.बी पुनले निर्देशन गरेको चलचित्रमा भगवान् भुजेलले लगानी गरेका छन् । फिल्मले एउटा बक्सा भित्र थुनिएकी यूवतीले गर्ने संघर्षको कथालाई प्रस्तुत गरिएको छ ।
कोरोनाको समयमा एउटा बक्सा भित्र खिचिएको यो फिल्ममा नायिका रिस्ता बस्नेतले भने उत्कृष्ट अभिनय गरेकी छिन् । फिल्ममा अर्की नायिका सुनिशा बजगाँइको पनि छोटो तर उत्कृष्ट भूमिका छ ।
फिल्ममा सुनिशा र रिस्तालाई मिल्ने साथीको भूमिकामा देखाइएको छ । फिल्मको अधिकांश दृश्यमा रिस्ता बस्नेत र उनले बक्सा भित्र रहेर बाहिर निस्कन गरेको संघर्षको कथा उल्लेख छ ।
फिल्ममा अन्य कुनै पात्रलाई हिरो देखाइएको छैन । एकाध सम्बाद बाहेक पात्रको उपस्थिति नै छैन । एकजना खलपात्र छन् तर उनको भुमिका पनि नगन्य छ अर्थात् पुरै फिल्म रिस्ता बस्नेतले आफ्नै काधमा थामेकी छिन् भन्दा फरक पर्दैन ।
नयाँ नेपाली फिल्म हेर्न नपाएका दर्शकका लागि ‘पासो’ उपयुक्त छनोट हुनसक्छ तर, फिल्मले हलसम्म दर्शक तान्ने गरी कुनै प्रचार नगर्नु र चलचित्रको निर्देशन पक्ष फितलो हुनुले लगानीको रक्षा हुने नहुने दर्शकको हातमा छ ।

