पदको भागबन्डा: माओवादीले राष्ट्रपति, काँग्रेसले प्रधानमन्त्री, समाजवादीलाई कुन ?

परेवान्युज

काठमाडौं, १७ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सबै परिणाम सार्वजनिक हुन अझै केही दिन लाग्‍नेछ । प्रत्यक्षतर्फ बाजुरा, स्याङ्जा-२ र दोलखाको परिणाम सार्वजनिक हुन बाँकी छ भने समानुपातिकमा अझै ४ लाख मत गन्न बाँकी छ ।

अहिलेकै सत्ता गठबन्धनले नयाँ सरकार बनाउन झिनो बहुमत पाउने देखीएपनि त्यसमा केही साना दलको समेत सहयोग लिनुपर्ने अवस्था छ । सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीलाई समेत गठबन्धनमा ल्याउन प्रयास गरिएको छ ।

अर्कोतिर नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलाउने प्रयास पनि भइरहेको देखिन्छ । माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन र नारायणकाजी श्रेष्ठ समुहका केही नेता एमाले-माओवादी मिल्नुपर्ने पक्षमा छन् । उनीहरुको प्रयासमा चीन समेत लागेको चर्चा छ ।

यही सेरोफेरोमा नयाँ सरकार कसरी बन्न सक्छ भन्ने अनुमान एकातिर छ भने गठबन्धनभित्रै पनि मुख्य पदमा भागबन्डा सुरु भएको बुझिएको छ । स्रोतका अनुसार राष्ट्रपति, प्रधानमन्त्री र सभामुखमा नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको दाबी छ । समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त ५ वर्षमा पालैपालो प्रधानमन्त्री हुँदा आफू पनि एक दाबेदार रहेको बताइसकेका छन् ।

नेपाली काङ्ग्रेस र माओवादीले आधा-आधा चलाउने सहमति खोज्दै गर्दा नेपालको यो भनाइ बाहिर आएको हो । तर, समाजवादीलाई उपराष्ट्रपति वा उपसभामुख मात्रै दिने तयारी काङ्ग्रेस-माओवादीको रहेको माओवादीका एक नेताले बताए । ‘काङ्ग्रेसले प्रधानमन्त्री लियो भने राष्ट्रपति र सभामुख हामी लिन्छौं’ उनले भने-‘प्रधानमन्त्री लिएपछि उपराष्टपति वा उपसभामुखमा काङ्ग्रेस कै दाबी हुन्छ, बाँकी एउटा समाजवादीले पाउने हो ।’

यता, नेपाली काङ्ग्रेसले पनि ठूलो दल भएकोले प्रधानमन्त्रीमा दाबी स्वभाविक र सभामुख पनि लिने तयारी गरेको एक नेता बताउँछन् । यदि पहिलो कार्यकाल माओवादीले प्रधानमन्त्री लिने हो भने राष्ट्रपति समेत सरकारका अन्य महत्त्वपूर्ण मन्त्रालय र संवैधानिक नियुक्तिमा काङ्ग्रेसले मुख्य दाबी गर्नेछ ।

गठबन्धनका दलभित्र समाजवादीको थ्रेसहोल्ड कट्ने नकट्ने टुंगो नलाग्दा पनि अलमल छ । यदि समाजवादी राष्ट्रिय पार्टी भएन भने उसको दाबी समेत कमजोर हुनेछ । अझै समानुपातिकमा १४ हजार भोटले समाजवादीलाई थ्रेसहोल्ड कटाउन गाह्रो बनाएको छ । यद्यपि ४ लाख मत गन्न बाँकी हुँदा यसको नतिजा अहिले भन्न सकिन्न ।

हालसम्म घोषणा भएकामध्ये नेपाली काङ्ग्रेस ५५, माओवादी १७, समाजवादी १०, लोसपा ४ र जनमोर्चा १ गठबन्धनको सिट हो । यसमा समानुपातिक जोड्दा र सिके राउतलाई समेत ल्याउदा गठबन्धनभित्र १४१ सिट हुन सक्छ । जुन सरकार बनाउन आवश्यक बहुमत हो । तर, समाजवादी राष्ट्रिय पार्टी बनेको खण्डमा ४ सिट गठबन्धनमा थपिनेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय