नेपाल र नामिबियाबीचको खेल वर्षाका कारण रद्द

काठमाडौं, १६ मंसिर । आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालले नामिबियासँग अंक बाँडेको छ ।
वर्षाका कारण दोस्रो इनिङको खेल हुन नसकेपछि दुवै टोलीले १ १ अंक प्राप्त गरे । नेपालले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले चार बलमा चार रन बनाएको थियो र त्यसपछि वर्षा सुरु भएको थियो जसका कारण खेल हुनै सकेन ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले नामिबियालाई १९८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले ४९.२ ओभरमा अलआउट हुँदै १९७ रनको मध्यम योगफल बनायो ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रनको योगदान दिए । ज्ञानेन्द्रले ओडिआई करियरको छैटौं अर्धशतक प्रहार गर्ने क्रममा ७ चौका र २ छक्का प्रहार गरे ।
आरिफ शेखले २३, आसिफ शेखले २० रन बनाउँदा अर्जुन साउद र गुल्शन झाले समान १८ रन बनाए । नामिबियाका ताङ्गेनी लुङ्गामेनीले ३, कार्ल बर्कनस्टकले २ विकेट लिँदा जेजे स्मिट, बर्नार्ड स्कोल्ज, जेरार्ड इरास्मसले १-१ विकेट लिए ।

