इंग्ल्यान्ड र अमेरिका विश्‍वकप फुटबलको नकआउट चरणमा

काठमाडौं, १४ मंसिर । कतारमा जारी फिफा विश्‍वकप फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्ल्यान्ड र अमेरिकाले जित निकालेसँगै नकआउट चरणको यात्रा तय गरेका छन् । इंग्ल्यान्डले वेल्स र अमेरिकाले इरानलाई हराउँदै समूह बी बाट अगाडि बढेका हुन् ।

इंग्ल्यान्डले वेल्सलाई ३-० ले पराजित गर्यो । इंग्ल्यान्डको जीतमा मार्कस रासफर्डले २ तथा फिल फोडेनले १ गोल गरे । सबै गोल दोस्रो हाफमा भएका थिए ।

खेलको ५० अ‍ौं मिनेटमा रासफर्डले फ्रिकिकमार्फत गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । करिब २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक सिधै गोलमा परिणत भएको थियो ।

त्यसको दुई मिनेटमै ह्‍यारी केनको पासमा फोडेनले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ६८अ‍ौं मिनेटमा रासफर्डले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई ३-० ले अगाडि बढाए ।

यसै समूहको अर्को खेलमा अमेरिकाले इरानलाई १-० ले हरायो । अमेरिकाको जीतमा पहिलो हाफको ३८औं मिनेटमा क्रिस्टियन पुलिसिकले गरेको गोल नै निर्णायक बनेको थियो ।

यी नतिजासँगै अपराजित रहेको इंग्ल्यान्ड ३ खेलमा ७ अंक जोड्दै समूहविजेता भयो भने अमेरिका ५ अंकसहित दोस्रो भएर नकआउट चरणमा पुगेको हो ।

३ अंक भएको इरान र १ अंक भएको वेल्स समूह चरणबाटै बाहिरिएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय