‘आहा ! रारा गोल्डकप’ अब ‘आहा ! रारा पोखरा गोल्डकप’
प्रतियोगिता पौष १३ गतेदेखि सुरु हुँदै
पोखरा, १३ मंसिर । सहारा क्लब पोखराको आयोजनामा प्रत्येक वर्ष हुँदै आएको ‘आहा ! रारा गोल्डकप’को नाममा केही परिमार्जन गरिएको छ । अबबाट प्रतियोगिताको नाम ‘आहा ! रारा पोखरा गोल्डकप’ हुने छ ।
२०५८ सालमा क्याराभान गोल्डकप फुटबल प्रतियोगिता नामले अगाडि बढेको गोल्डकप २२औं संस्करणमा आइपुग्दा नाम परिवर्तन गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गरी पोखरालाई खेलकुद हबको रुपमा परिचित गराउने उद्धेश्यसहित ब्राण्डमा ‘पोखरा’ थप गरिएको बताइएको छ ।
यसैबीच गोल्डकपको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिले आगामी १० वर्षका लागि सम्झौता थप गरेको छ । मङ्गलबार पोखरामा आयोजित हस्ताक्षर कार्यक्रममार्फत सुरुवातदेखि नै मुख्य प्रायोजन गर्दै आएको हिमश्री फुड्स प्रालिका अध्यक्ष प्रेम कुमारी केसी र सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले हस्ताक्षर गर्दै सम्झौता समयावधि १० वर्षका लागि थप गरिएको हो ।
यस पटक २२औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आगामी पुष १२ गतेदेखि २३ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ ।
सहारा क्लबले पोखरामा सञ्चालन गर्दै आएको सहारा एकेडेमीमा हाल ३० जना आश्रित रहेका छन् ।

