जनताको आवाज संसदमा राख्न पाइन तर अझै डटेर साथ दिन्छु: रेखा थापा

मोरङ, १० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ एवं नेपाली चलचित्रकी हिम्मतवाली नायीका रेखा थापाले निर्वाचन जितेर जनताको आवाज संसदमा राख्ने अवसर नपाएपनि जनताको आवाज थप बलियो बनाउने मान्छेको रुपमा आफू अझै लागिरहने बताएकी छिन् ।
मोरङ क्षेत्र नम्बर-३ बाट प्रतिनिधि सभामा उम्मेदवार रहेकी नायिका थापाले मतपरिणाम सार्वजनक भएपछि शनिबार विहान सामाजिक संजाल मार्फत उक्त धारणा राखेकी हुन् । उनले १० हजार ९ सय ८९ मत ल्याएकी थिइन् । यद्यपि यो क्षेत्रमा नेपाली काङ्ग्रेसका उम्मेदवार सुनिल शर्माले जित हासिल गरे ।
निर्वाचनमा पराजित भएपनि भोलिका दिनमा पनि जनताको हिम्मत बढाउन आफू लागिरहने बताएकी रेखाले चुनावको क्रममा धेरै अनुभव हासिल गर्न सकेको समेत बताएकी छिन् ।
हेरौं उनको विचार :-
‘मोरङ क्षेत्र नम्बर ३ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्मा विजयी हुनुभएको छ । उहाँलाई जितका लागि बधाइ र शुभकामना दिन्छु । यो क्षेत्रका नागरिकका सुख दुखमा उहाँ सँधै साथ हुनुहुनेछ भन्ने विश्वास गरेको छु ।
यो क्षेत्रबाट म पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवार थिएँ । मलाई माया र विश्वास गरेर मतदान गर्नुहुने १० हजार ९ सय ८९ जना मतदातालाई हार्दिक नमन गर्न चाहन्छु । मलाई सँधै हौसला दिने अन्य हजारौँ नागरिकप्रति म सँधै कृतज्ञ रहिरहनेछु । निर्वाचनका क्रममा अनेकौँ अनुभव हासिल गरेको छु । उम्मेदवार हुँदै गर्दा जित्नुपर्छ भन्ने लाग्नु अस्वभाविक होइन । तर निर्वाचित हुने एक जना मात्र हो । राजनीति लामो समयको यात्रा हो । यसमा जित्नु वा हार्नुको मात्र अर्थ रहँदैन पनि । सांसद मात्र बन्ने चाहना हुँदो हो त म प्रत्यक्ष निर्वाचन नलडी सांसद बन्न सक्ने धेरै सजिलो अवसर मेरा सामु थियो । मैले त्यो अवसरको लोभ नगरि प्रत्यक्ष उम्मेदवार बनेको थिएँ । यसका धेरै अर्थ थिए र छन् भन्ने लाग्छ । खैर, बाँकी कुराहरु गर्दै जाउँला । निर्वाचनबाट पराजित हुँदैमा म अब तपाईँहरुबाट टाढा हुने नसोच्नु होला । मेरो निर्वाचन क्षेत्रका हरेक सुख दुख बाँड्न म सँधै सँगै हुनेछु । यो निर्वाचनबाट निर्वाचित सुनिल शर्माजीका राम्रा काममा काँधमा काँध मिलाउनेछु तर बाटो बिराए बिना हिच्किचाहट खबरदारी गर्नेछु ।
आदरणीय मोरङ ३ का बासिन्दाहरू यसपटक निर्वाचन जितेर तपाईँहरुका आवाज संसदमा राख्ने अवसर नपाएपनि तपाईँले अब आफ्ना आवाज थप बलियो बनाउने मान्छेका रुपमा मलाई पाउनुहुनेछ । हाम्रो सहकार्य र हातेमालो पनि कायमै रहनेछ ।’

