पूर्व मुख्यमन्त्री पोखरेल पराजित

दाङ, ८ मंसिर । नेकपा एमालेका महासचिव एवं पूर्व मुख्यमन्त्री शंकर पोखरेल पराजित भएका छन् । लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री पोखरेल दाङ क्षेत्र नम्बर-२ मा उम्मेदवार थिए ।
नेकपा एमालेका महासचिव तथा अध्यक्ष केपी शर्मा ओलीका उत्तराधिकारीको रुपमा हेरिएका पोखरेल नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मासँग जम्मा २६४ मतको झिनो अन्तरले पराजित भए ।
नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य शर्माले २५ हजार ७ सय ९७ मत ल्याएर विजयी हुँदा पोखरेलले २५ हजार पाँच सय ३३ मत ल्याएका थिए । उनीहरूबीच मतान्तर जम्मा २६४ हो ।
महासचिव पोखरेलको पराजयले ओलीलाई ठूलो धक्का लाग्न सक्छ । अध्यक्ष ओलीकै निकट सहयोगीहरु वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, युवा नेता महेश बस्नेत पनि पराजित भइसकेका छन् ।

