अर्जेन्टिना विश्‍वकपको पहिलो खेलमै स्तब्ध

काठमाडौं, ६ मंसिर । कतारमा जारी फिफा विश्‍वकप फुटबलअन्तर्गत मङ्गलबार भएको पहिलो खेलमा अर्जेन्टिना पराजित भएको छ । अर्जेन्टिनालाई साउदी अरेबियाले २-१ गोलअन्तरले हराएको हो ।

साउदी अरेबियाको जीतमा सालेह अल सेहरी र सालेम अल दसारीले एकएक गोल गरे । अर्जेन्टिनाका लागि लियोनल मेस्सीले एक गोल गरेका थिए ।

खेलको नवौं मिनेटमा अर्जेन्टिनाले पेनाल्टीको अवसर पायो । कप्तान मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यसपछि तीनपटक गोल गरेपनि सबै गोल अफसाइड भएकाले अर्जेन्टिना पहिलो हाफमा १-० मै रोकियो ।

दोस्रो हाफको सुरुवाती समयमा नै साउदी खेलमा फर्कियो । ४८औं मिनेटमा अल सेहरीले सुन्दर फिनिस गर्दै खेल बराबरीमा ल्याए । त्यसको पाँच मिनेटमै अल दसारीले गोल गर्दै साउदीलाई अग्रता दिलाए ।

जीतसँगै समूह सी मा साउदी अरेबियाले ३ अंक जोडेको छ भने अर्जेन्टिना अंकविहीन छ । यसै समूहको अर्को खेलमा आज पोल्यान्ड र मेक्सिको भिड्दैछन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय