विश्‍वकप फुटबलमा नेदरल्यान्ड्सको विजयी सुरुवात, वेल्स र अमेरिकाको बराबरी

काठमाडौं, ६ मंसिर । कतारमा जारी फिफा विश्‍वकप फुटबलअन्तर्गत गएराति भएको खेलमा नेदरल्यान्ड्सले जीत निकालेको छ । नेदरल्यान्ड्सले अफ्रिकी राष्ट्र सेनेगललाई २-० गोलअन्तरले हराएको हो ।

नेदरल्यान्ड्सको जीतमा कोडी गाप्को र डेभी क्लासेनले १-१ गोल गरेका थिए । दुवै गोल दोस्रो हाफको अन्त्यतिर भएका थिए ।

दोस्रो हाफको ८४औं मिनेटमा गाप्कोले गोल गर्दै डच टोलीलाई अग्रता दिलाएका थिए । इन्जुरी समयको नवौं मिनेटमा क्लासेनले गोल गरेपछि नेदरल्यान्ड्सको २-० को जीत पक्का भएको थियो ।

जीतसँगै समूह ए मा नेदरल्यान्ड्सले ३ अंक जोडेर शीर्षस्थानमा छ । इक्‍वेडर पनि ३ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी गएराति नै भएको समूह बी को खेलमा अमेरिका र वेल्सले बराबरी खेलेका छन् । अल रायन रङ्गशालामा भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो ।

अमेरिकाले टिमोथी विहाको गोलमार्फत ३६औं मिनेटमा अग्रता लिएपछि पहिलो हाफमा १-० ले अगाडि रहेको थियो ।

दोस्रो हाफको ८२औं मिनेटमा वेल्सका ग्यारेथ बेलले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई हारबाट जोगाए ।

यस बराबरीपछि दुवै टोलीले १-१ अंक प्राप्त गरेका छन् । यस समूहमा इंग्ल्यान्ड ३ अंक जोड्दै शीर्षस्थानमा छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय