कांग्रेस महाधिवेशन : देउवा पक्षले वडा अधिवेशन गर्दै

काठमाडौं । नेपाली कांग्रेसमा देउवा पक्षको समानान्तर महाधिवेशन अन्तर्गत वडा अधिवेशनको प्रक्रिया आजबाट सुरु गर्ने भएको छ।

नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर देखिएको विवादबीच पूर्वसभापति शेरबहादुर देउवा पक्षले आज, असोज १५ गतेदेखि समानान्तर महाधिवेशन प्रक्रिया सुरु गर्दैछ। देउवा पक्षले देशभर वडा अधिवेशन आयोजना गर्न लागेको हो।

देउवा पक्षले आफ्नो छुट्टै कार्यतालिका अनुसार देशभर वडा अधिवेशन गर्न लागेको छ। यसका लागि विभिन्न जिल्लामा निर्वाचन अधिकृत तथा संयोजकहरू खटाइएको छ। जिल्ला सभापतिले अधिवेशन नगराए छुट्टै संयोजकमार्फत अधिवेशन गराउने व्यवस्था गरिएको देउवा पक्षले जनाएको छ।

वडा अधिवेशनबाट सम्बन्धित वडाको क्रियाशील सदस्यताको आधारमा कम्तीमा २१ देखि बढीमा ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने व्यवस्था गरिएको छ। वडा कार्यसमितिमा युवा तथा महिला प्रतिनिधित्वसमेत सुनिश्चित गर्ने व्यवस्था देउवा पक्षको कार्यतालिकामा छ।

देउवा पक्षको प्रस्तावित कार्यतालिका अनुसार गाउँपालिका र नगरपालिका अधिवेशन असोज २० गते हुनेछ। त्यसैगरी प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज २३ गते अनि जिल्ला अधिवेशन कात्तिक १५ गते हुनेछ ।

सातवटै प्रदेश अधिवेशन मंसिर ४ गते गरेपछि केन्द्रीय महाधिवेशन मंसिर २१–२३ गते, काठमाडौंमा हुनेछ।

यो कार्यतालिका देउवा पक्षले निर्वाचन आयोगलाई समेत जानकारी गराएको छ। यद्यपि नेपाली कांग्रेस संस्थापनले असोज १८ देखि २१ सम्म १५ औं महाधिवेशन सम्पन्न गर्दैछ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय