सप्तकोसीमा पानीको बहाव बढ्यो, ब्यारेजका ढोका खोलिए

काठमाडौं । पूर्वी पहाड तथा तराईका विभिन्न जिल्लामा भएको भारी वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ ।
कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७२ हजार ४३२ क्युसेक प्रतिसेकेन्ड रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।
कोसी नदीमा पानीको बहाव बढेसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै ब्यारेजका ५२ वटा मूल र दुई वटा नहरको गरी ५६ वटा ढोकामध्ये ३२ वटा ढोका खुला गरिएको छ। आज रातिको वर्षापछी थप ढोकापनी खोल्नुपर्ने उनले जानकारी दिए ।
पानीको बहाव बढ्दो क्रममा रहेकाले खतराको सङ्केतस्वरुप कोसी ब्यरेजमा रातो बत्ती बालिएको छ । खतराको सङ्केतस्वरुप रातो झण्डा फहराइएको कोसी ब्यारेजको कन्ट्रोल रुमले जनाएको छ ।
यसैगरी सोमबारदेखि परेको अविरल वर्षाले देशका धेरै पहाडी स्थानमा पहिरो गएको छ भने तराईमा डुबान परेको छ। ठाउँठाउँमा सडक अबरुद्ध भएको छ। बीपी राजमार्ग र नारायणगढ-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध छन् । कर्णाली राजमार्ग,कोशी राजमार्ग र मध्यपहाडी लोकमार्ग ठाउँ-ठाउँमा अवरुद्ध छन् ।

