रास्वपा महाधिवेशन : पैसा र समयको बर्बादी मात्रै !

शिरज शर्मा

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशन चितवनको भरतपुरमा ६ दिन लगाएर सकिएको छ। महाधिवेशनमा झन्डै ७ करोड रुपैयाँ आयोजकको मात्रै खर्च भएको छ भने त्यत्तिनै खर्च चितवन पुगेका सहभागीले ब्यक्तिगत रुपमा गरेका छन् ।

सुरुमा ३ दिन भनिएको महाधिवेशन लम्बिदै जाँदा कतिपय प्रतिनिधि खर्च अभावले बिचमै घर फर्केका थिए। चितवनमा रास्वपा महाधिवेशनपूर्व नै चहलपहल हुँदादेखि सकिने दिनसम्म आइपुग्दा झन्डै ३५ करोड बराबरको आर्थिक कारोबार भएको अनुमान गरिएको छ। नारायणघाट,भरतपुर,टाँडी र सौराहाका विभिन्न होटल,रेष्टुरेन्ट र ब्यापारीका पसलमा भएको आर्थिक कारोबारले चितवनलाई चलायमान बनाएपनी पार्टी महाधिवेशनले रास्वपालाई भने त्यति उत्साही बनाएन।

पार्टी जीवनमा महाधिवेशनको ठूलो अर्थ हुन्छ। महाधिवेशनले निर्वाचित गर्ने नेतृत्व र महाधिवेशनको बन्दसत्रबाट पारित गरिने पार्टीको मुल नितिले त्यसपार्टीको आगामी कार्यदिशा निर्देशित हुन्छ। तर,रास्वपाले ६ दिन लगाएर सम्पन्न गरेको महाधिवेशनमा न कुनै स्पस्ट नीति देखियो न आशालाग्दो नेतृत्व नै चुनियो।समग्रमा पैसा र समयको बर्बादी बाहेक ‘हातलाग्यो शून्य’ जस्तै भयो। अझ महाधिवेशन अगाडी एकतावद्ध देखिएको पार्टी संगठनलाई महाधिवेशनले गुट र उपगुटमा बदल्यो। एकताको महाधिवेशन हुनुपर्नेमा टुट, फुट र विभाजनको रेखा महाधिवेशनले कोरेको सहभागीले सार्वजनिक रुपमै बोल्न थालेका छन् । कतिपय केन्द्रीय नेताले महाधिवेशन चलिरहेका बेला बन्दसत्र बारेमा र चुनावी प्रक्रियाका बारेमा लेखेका फेसबुक स्टाटस त झन् चर्चामा छ। जितेको उम्मेदवारलाई हराइएको भन्दै पोखराकि पूजा बास्तोलाको कानुनी उपचार खोज्छु भन्ने अभिव्यक्ति होस् वा नेताहरूको गुटबन्दीको दृश्य होस् रास्वपालाई अगाडिको बाटो झन् अफ्ट्यारो भएको बुझ्न सकिन्छ।

महाधिवेशनले सभापतिमा रवि लामिछाने र बरिस्ठ नेतामा बालेन्द्र शाहलाई केन्द्रीय समितिको चुनाव अगावै निर्वाचित गर्‍यो । त्यसपछि केन्द्रीय सदस्य निर्वाचित स्वर्णिम वाग्ले उपसभापतिमा निर्विरोध भए। अनि मात्रै पदाधिकारीको लागि पुनः चुनाव गरियो। सभापति,वरिष्ठ नेता र उपसभापति त ठ्याक्कै पुरानै दलका जस्तै उही ब्यक्ति पुरानै पदमा पुरानै तरिकाले चुनिएको देखियो। यसमा कुनै प्रतिस्पर्धा वा विधि सम्म पनि पुर्‍याइएको देखिएन ।

उता,महाधिवेशन सकिएर नेतृत्व घोषणा हुँदा प्रधानमन्त्री समेत रहेका रास्वपा बरिस्ठ नेता चितवन मै थिएनन् । उनले कसैलाई भोट पनि दिएनन् । यसरी चुनिएका ब्यक्तिलाई महाधिवेशन प्रतिनिधिको पिडा र महाधिवेशनको महत्त्व थाहा हुने कुरै भएन । महाधिवेशन उद्घाटन सत्रमा केही घन्टा र पहिलो दिनको बन्दसत्रमा केही मिनेट मात्रै प्रतिनिधिसँग बिताएका बरिस्ठ नेताले त्यो भन्दा बढी समय लटौली रिसोर्ट र सौराहामा बिताएको सबैले देखेकै हुन् । सभापति र बरिस्ठ बाहेक अन्यको निर्वाचन हुँदा पनि ‘राम-लक्ष्मण’ भोटिङ मेसिनले बाहेक अरु सबैले विधि मिचेको र गुटबन्दी गरेको स्पष्ट देखियो। अझ कतिपयले भोटिङ मेसिन मै सेटिङ गरेको आशंका समेत व्यक्त गरे। कुनै उम्मेदवारले त नतिजा नआउँदै ‘मैले हारें’ भन्दै पार्टी नेतृत्वले अन्तर्राष्ट्रिय बेइज्जत गरेको सम्म भन्न भ्याए। प्रतिनिधिले बोक्ने झोला र खाने मासुभातको चर्चा चाहिँ यहाँ गर्नु परेन !

अब महाधिवेशनको अर्को महत्त्वपूर्ण पक्ष मानिएको प्रतिवेदनका बारेमा चर्चा गरौं । ‘जान्नेलाई छान्ने’, ‘चुपचाप घण्टी छाप’ र ‘हामी नयाँ हौं’ भन्दै आएका रास्वपा नेताकार्यकर्ताको चितवन भ्रमण सफल भएपनी महाधिवेशन हलमा भने उनीहरु पूर्ण असफल देखिए। महाधिवेशन हलको उद्घाटन सत्रदेखी बन्दसत्र र चुनावी कार्यक्रम सम्म रास्वपाले कहिँ कतै ‘जान्ने हौं’  र ‘नयाँ हौं’ भन्ने पहिचान देखाउन सकेनन् । कांग्रेस,एमाले,माओवादी वा मधेसवादी दलका कार्यक्रम भन्दा पनि अव्यवस्थित,भद्दा र भद्रगोल रास्वपाको महाधिवेशनमा स्पस्ट देखिन्थ्यो। मलाई पुगेन,मलाई चाहियो,नत्र म देखाइदिन्छु पख्लास ! भन्ने शैलीमा सबैजसो नेताकार्यकर्ता महाधिवेशन हल वरिपरि चर्काचर्की गरेको देखियो। म सिनियर,मैले पार्टी बचाएको,म नभए चुनाव नै जित्न सकिँदैनथ्यो भन्ने जस्ता अहम् बोकेर नेतृत्वलाई तथानाम भन्नेहरू पनि महाधिवेशनमा भेटिए। यस्तो भद्रगोल र चर्काचर्की हिजोका पुराना भनिएका दलका कार्यक्रममा पनि देखिन्थ्यो र सुनिन्थ्यो ! आज नयाँमा झन् ठूलो स्वरमा सुनियो ।

चुनावमा कसैलाई उठ्नै नदिनेगरी प्रतिनिधि हुनबाटै बन्चित गरियो भने कसैलाई उम्मेदवार भएपछि फिर्ता लिन दबाब पनि दिइयो रे ! पदाधिकारीमा त चुनावै हुन नदिने गरि रातभर सभापति सहितको बैठक पनि बसेको थियो। रातभर उम्मेदवार हुने भनेका चर्चित अनुहार भोलिपल्ट एकाएक ‘उम्मेदवारी फिर्ता’ भन्दै फेसबुकमा लेख्न थाले । बिराजभक्त श्रेष्ठ,कबिन्द्र बुर्लाकोटी,रन्जु दर्शना,शिशिर खलाल,गणेश पराजुली समेतले उम्मेदवारी दर्ता गरेर पनि फिर्ता लिए । त्यसो त महाधिवेशन प्रतिनिधिले भोट हाल्न रुचि पनि देखाएनन। झण्डै ४३ सय प्रतिनिधि मध्य केन्द्रीय सदस्यको निर्वाचनमा जम्मा २ हजार ९५९ मत मात्रै खसेको थियो । त्यसपछि पदाधिकारी निर्वाचनमा त त्यो संख्या पनि आधाले घटेर १२८९ मा आइपुग्यो। ४ हजार ३ सय प्रतिनिधिले छान्नुपर्ने नेतृत्व १२८९ जनाले मात्रै छान्नुपर्ने अवस्था किन आयो ? यसको जवाफ नेतृत्वसँग छैन। यो भद्रगोल र अव्यवस्थित रुपमा सम्पन्न भएको महाधिवेशनले रास्वपा नेतृत्वलाई ‘टेलिभिजन र फेसबुकबाट अरुलाई गाली गर्न जस्तो सजिलो आफ्नोमा नहुने रहेछ’ भन्ने चाहिँ पक्कै बुझेको हुनुपर्छ ।

अन्त्यमा महाधिवेशनले पारित गर्नुपर्ने पार्टी जीवनको मुल दस्तावेजका बिषयमा त यहाँ लेख्नै परेन। विगतमा भएका परिवर्तनलाई अस्विकार गर्नेदेखि छिमेकीसँगको सम्पर्क अनि अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा रास्वपाले आफ्नो अडान, पहिचान र लक्ष्य भेट्न असफल भएको देखियो। देशभित्रका राजनीतिक दलसँगको सम्बन्ध को सँग कस्तो हुने भन्ने पनि छुट्टाउन नसकेको देखियो। हचुवाको भरमा प्रदेश खारेज र निर्दलिय स्थानीय चुनावको झटारो हानेको प्रतिवेदनले प्रत्येक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदको कुरा अनि स्थानीय तहको संख्या कटौती गर्नेकुरा अमुर्त रुपमा अगाडी सारेको छ। संविधान संशोधनका लागि समिति बनाएर बहस र छलफल गर्ने,सुझाव लिने अनि प्रदेश खारेजको कुरा महाधिवेशनमा अघि सारेर त्यै संविधानको मर्म माथी प्रहार गर्ने कुरालाई ‘जान्ने’ भन्न सकिन्न। त्यसैले एउटा राजनीतिक दलको रुपमा महाधिवेशन गर्नु र नेतृत्व चुन्नु त्यो पार्टीको लागि खुसीको कुरा हो। तर, त्यसका लागि यत्ति धेरै पैसा र समयको बर्बादी आवश्यक थियो र ? यसको जवाफ सदन वा सडक जहाँबाट भएपनी दिनैपर्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय