चलचित्र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन तीजमा

काठमाडौं । हिम्मतवाली नायिका एवं निर्देशक रेखा थापाले निर्देशन गरेको चलचित्र ‘माया भनेकै यस्तो होला’को सार्वजनिक प्रदर्शन आगामी तीजमा हुने भएको छ ।

गत फागुन २५ गते शुभमुहर्त गरि छायांकन गरिएको यस चलचित्रको २८ औँ दिनमा छायांकन सकाइएको थियो। हाल प्राबिधिक काम भैरहेको छ । चलचित्रलाई काठमाडौं आसपासकै विभिन्न स्थानमा खिचिएको हो।

चलचित्र ‘माया भनेकै यस्तो होला’ मार्फत अभिनेत्री रेखा ८ वर्षपछि निर्देशनमा फर्किएकी हुन् । ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता फिल्म निर्देशन गरिसकेकी उनको यो तेस्रो निर्देशकीय फिचर सिनेमा हो ।

अभिनयमा नभएर निर्देशनमा मात्र पूर्ण रूपमा केन्द्रित भएकी रेखाले यसपटक आफ्नै ब्यानर ‘रेखा फिल्मस्’ भन्दा बाहिर आएर चलचित्रमा काम गरिरहेकी हुन् । नेपाली चलचित्र इतिहासमा कुनै पनि स्थापित महिला निर्देशकले बाहिरी ब्यानरको चलचित्र निर्देशन गरेको यो सम्भवतः पहिलो पटक हो ।

‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको यस चलचित्रमा नेपाली कला क्षेत्रका दिग्गजदेखि वर्तमानका चर्चित अनुहारको जम्बो टोली छ ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठसँगै पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ । विशेष भूमिकामा पूर्वमिस नेपाल उषा खड्गीको पनि अभिनय छ । यस हिसाबले चलचित्रमा एक साथ चार मिस नेपाल समेटिएका छन् ।

‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण यो चलचित्रमा लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेल लगायतको अभिनय छ ।

यसअघि निर्माण पक्षले चलचित्रको औपचारिक घोषण गर्दा दुईवटा पोस्टर सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएका दुई पोष्टरमा कलाकारहरूको भावुक र रोमान्टिक अवतार देखाइएको थियो ।

एक पोस्टरमा दिल श्रेष्ठको साथमा तीन अभिनेत्रीहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह देखाइएको थियो । जसमा तीनै अभिनेत्रीहरू रातो रङको पहिरन (लेहेंगा र सारी) मा सजिएका थिए । दिल श्रेष्ठ र नम्रता श्रेष्ठको सामिप्यता झल्किएको छ भने सृष्टि र नीति शाहका भावहरू अलि गम्भीर देखिन्छन् ।

अर्को पोस्टरमा अभिनेता दिल एक वृद्ध (कलाकार मदनकृष्ण श्रेष्ठ) को साथमा भावुक मुद्रामा समावेश थिए । ह्विलचेयरमा बसिरहेका मदनकृष्ण श्रेष्ठको हात समातेर भुइँमा बसेका दिल श्रेष्ठको मुद्राले सन्तानको कर्तव्य र बुढेसकालको सहाराको कथालाई प्रस्तुत गरिएको थियो ।

हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको यस चलचित्रले सुमधुर प्रेम कथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई उठान गर्ने बताइएको छ । यस चलचित्रमा ध्रुव लम्सालको पटकथा लेखन रहेको छ । १० वर्षपछि लेखनमा फर्किएका उनले स्क्रिप्टमा निकै मिहिनेत गरिएको बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय