शनिबार हुने ‘बौद्ध महोत्सव’ को तयारी पुरा

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर-६ बौद्धले भोलि जेठ २३ गते शनिबार बौद्धमा आयोजना गरेको ‘बौद्ध महोत्सव’को सम्पूर्ण तयारी पूरा भएको छ।

‘हाम्रो बौद्ध,हाम्रो संस्कृति,हाम्रो उत्सव’ नारा सहित पहिलोपटक यो महोत्सव गरिन लागेको हो। महोत्सवको काठमाडौं महानगरकी कार्यबाहक मेयर सुनिता डंगोलले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक समिति संयोजक एवं कामपा ६ का वडा अध्यक्ष भुवन लामाले बताए।

यसैगरी ‘बौद्ध महोत्सव-२०८३’ को सम्पूर्ण तयारी पूरा भएको र भोलि बिहानैदेखि महोत्सव स्थलमा चहलपहल हुने आयोजकको भनाइ छ। काठमाडौं महानगरपालिका वडा नम्बर-६ को आयोजनामा बौद्ध एरिया भित्र हुने महोत्सवमा झण्डै ५० लाख खर्च अनुमान गरिएको छ।

महोत्सव सफल पार्न वडा भित्रका सबै संघ संस्था र नागरिकलाई आग्रह गरिएको छ। अध्यक्ष लामाले हरेक दिन सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल र परामर्श गर्दै आएको समेत बताए। शनिबार महोत्सवमा आउने दर्शकका सवारीसाधन बौद्धका केही निश्चित ठाउँमा पार्किङको व्यवस्था गरिएको छ। महोत्सव स्थल झकिझकाउ पारिएको छ भने स्टल निर्माण र मंच निर्माणको काम पनि सकिएको छ।

खासगरी यहाँको धार्मिक एवं सांस्कृतिक पक्षलाई संरक्षण गर्ने अनि सबै किसिमका धर्म संस्कृतिलाई संरक्षण गर्ने र मौलिक खानेकुरा, स्थानीय भेषभुसासँगै पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले यो महोत्सव आयोजना गरिएको अध्यक्ष लामाले बताए। महोत्सव सफल पार्न वडा अध्यक्ष भुवन लामाको अध्यक्षतामा मुल समारोह समिति बनाइएको छ। जसमा वडा सचीव कमल गौतमलाई सदस्य सचीव तोकिएको छ। महोत्सवमा विभिन्न ख्यातिप्राप्त ब्याण्डलाई पनि समावेश गरिएको छ। हिन्दु र बुद्ध धर्म मान्नेको जन्मदेखी मृत्युसंस्कार सम्मको गतिविधि महोत्सवमा झल्काउने प्रयास गरिने आयोजकको भनाइ छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय