छोरीको हत्याको अभियोगमा आमा पक्राउ

 

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले आमालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका घर भई सिद्धार्थ टोलमा डेरा गरी बस्ने ३७ वर्षीया मैना थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

छोरी प्रिन्सीका थापालाई घरबेटीको करेसाबारीमा खाल्डो खनेर पुरेको अवस्थामा मैनाका पति ३६ वर्षीय गोपाल थापाले फेला पारेका थिए । उनले तत्काल शिशुलाई खाल्डोबाट निकालेर उपचारका लागि तनहुँ सेवा अस्पताल दुलेगौँडा पुर्‍याएका थिए । अस्पतालमा चिकित्सकले जाँच गर्दा साँझ ५:४५ बजे शिशुलाई मृत घोषणा गरेको थियो ।

त्यसपछि आमा मैनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दीपककुमार कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ परेकी मैना ‘डिप्रेसन’ को औषधि सेवन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय