कान्स फिल्म फेस्टिभल : नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले जित्यो पुरस्कार

विश्व प्रतिष्ठित फिल्म महोत्सव कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले महत्त्वपूर्ण पुरस्कार जितेको छ। महोत्सवमा सो चलचित्रले ‘जुरी प्राइज’ जितेको हो।
फ्रान्समा भएको ७९औँ कान्स फिल्म फेस्टिभलमा अविनाश विक्रम शाह निर्देशित फिल्म ‘एलिफेन्ट्स इन द फग’ले दोस्रो महत्त्वपूर्ण विधा ‘अन सर्टेन रिगार्ड’तर्फ क्लोजिङ सेरोमनीमा उक्त अवार्ड जितेको बताइएको छ।
यस विधाको मुख्य अवार्ड ‘अन सर्टेन रिगार्ड प्राइज’ भने सान्ड्रा वुल्नरको फिल्म ‘एभ्रिटाइम’ले जितेको छ। त्यसपछिको दोस्रो मुख्य अवार्ड नेपालले पाएको हो।
कार्यक्रममा सहभागी काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले खुसी हुँदै सामाजिक सञ्जालमा लेखेकी छन्, ‘नेपालले भर्खरै ७९औँ कान्स फिल्म फेस्टिभलमा इतिहास रच्यो। अविनाश विक्रम शाह निर्देशित एलिफ्यान्ट्स इन द फगले कान्स २०२६ मा अन सर्टेन रिगार्डमा निर्णायक पुरस्कार जितेको छ। यो केवल एउटा फिल्मको जित मात्र होइन, यो नेपाली सिनेमाको लागि ऐतिहासिक क्षण हो।’
फ्रान्सको कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी हुन गत आइतबार फ्रान्स प्रस्थान गरेकी थिइन्। कान्स र काठमाडौँ दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन्।
यही जेठ ७ गते कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ को वर्ल्ड प्रिमियर भएको थियो।
प्रिमियरअघि निर्देशक अविनाश विक्रम शाहसहित फिल्मका मुख्य कलाकारहरू पुष्प थिङ लामा, सहद दिन मिया, जस्मिन विश्वकर्मा, अलिज घिमिरे, चयन अधिकारीलगायत कान्सको रेड कार्पेटमा प्रस्तुत भएका थिए।

