रेमबहादुरको लोभलाग्दो काक्रो खेती

दक्षिण ललितपुरको बागमती गाउँपालिका-७, खुर्मीका युवा कृषक रेम बहादुर (कुमार) घिमिरे गाउँमै व्यावसायिक काँक्रो खेती गरेर अरुका लागि प्रेरणा बनेका छन् भने आफ्नालागि घरमै बसेर आम्दानी बढाइरहेका छन् ।

रेमबहादुरले अहिलेसम्म कुनै पनि सरकारी अनुदान वा सहयोग बिना आफ्नै लगानी र अथक परिश्रमले यो सिजनमा झन्डै ५० क्विन्टलसम्म काँक्रो उत्पादन गरी बजारमा पुर्‍याई रहेका छन् ।यसपछि यही ठाउँमा फेरि अर्को बाली लगाउने उनको सोच छ। गाउँको उर्वर माटोमा पसिना बगाउँदै घिमिरेले ‘कृषिबाटै आत्मनिर्भर बन्न सकिन्छ’ भन्ने सशक्त सन्देश पनि दिइरहेका छन् ।

आगामी दिनमा खेतीलाई थप आधुनिक र विस्तारित गर्दै उत्पादन दोब्बर बनाउने योजनामा रहेका घिमिरे भन्छन्, -‘अहिले मैले एक्लै आफ्नै बलबुताले यति गरेको छु। यदि स्थानीय वा प्रदेश सरकारबाट थोरै प्राविधिक वा आर्थिक सहयोग पाएँ भने उत्पादन दोब्बर बनाउनुका साथै म जस्तै गाउँका अन्य १०० जना युवालाई पनि व्यावसायिक कृषिमा जोडेर गाउँमै रोजगारी सिर्जना गर्न सक्छु।’

कृषक घिमिरेको यो प्रयासले ग्रामीण क्षेत्रमा कृषि उद्यमशीलताको प्रचुर सम्भावना रहेको पुष्टि गरेको छ। सरकारी निकायको सानो सहयोगले पनि युवाहरूलाई कृषिमा टिकाउन र आत्मनिर्भर बनाउन सकिने उनको अनुभवले देखाएको छ।

कुमार घिमिरेजस्ता कर्मठ युवाको सपना साकार पार्न र ग्रामीण अर्थतन्त्र बलियो बनाउन राज्यका सम्बन्धित निकायको ध्यान जान जरुरी छ। उनी पनि यही सोचिरहेका छन् कि सरकारी अनुदान हामिजस्ता कृषकको लागि कहिले आउला ?

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय