नेपाली फिल्म वर्ष २०८२ : कुन फ्लप, कुन हिट ?

नेपाली सिनेमाका लागि वर्ष २०८२  त्यति धेरै उत्साही वर्ष बनेन। यद्यपि यो वर्ष प्रदर्शन भएका केही चलचित्रले उत्साहजनक ब्यापार भने गरेको देखियो। तर,पनि उत्कृष्ट १० भित्र परेका चलचित्रले पनि लगानी उठाउन नसक्नु र बक्स अफिसमा कमजोर साबित हुनु सुखद होइन ।

तथ्यांकमा हेर्दा वर्ष २०८२ मा प्रदर्शन भएका ५६ वटा चलचित्रले जम्मा १ अर्ब ८ करोड हाराहारीको व्यापार गरेको देखिन्छ। यो १०/१२ वटा चलचित्रले गर्ने ब्यापार हो। चलचित्र विकास बोर्डले राखेको तथ्यांक अनुसार यसवर्ष रिलिज भएका ५६ वटा फिल्मले कुल १ अर्ब ८ करोड ३८ लाख ५७ हजार ९ सय १० रुपैयाँको व्यापार गरेको देखिन्छ। यसरी हेर्दा एउटा चलचित्रको भागमा ३ करोड पनि देखिन्न। जबकि चलचित्रले ५ करोड भन्दा कम ब्यापार गरेर लगानी पनि उठ्दैन।

५६ चलचित्रको प्रदर्शन हुँदा जम्मा ३७ लाख ८१ हजार ५४४ वटा टिकट बिक्री भएको चलचित्र विकास बोर्डको तथ्यांक छ । बोर्डका अनुसार यसवर्ष प्रदर्शन भएका मध्य सबैभन्दा धेरै कमाई ‘परान’ले गरेको छ । दीपक आचार्यले निर्देशन गरेको उक्त फिल्मले मात्र १७ करोड ७६ लाख ८४ हजार रुपैयाँ ग्रस कमाएको छ । यो चलचित्रले २०८२ को तिहारमा प्रदर्शन भएर माघ सम्म हलमा राज गरेको थियो।

त्यसैगरी चन्द्र पन्तले निर्देशन गरेको ‘आबाट आमा’ले कुल १३ करोड १३ लाख ७८ हजार ५२० रुपैयाँ ग्रस कमाएको छ । यो चलचित्र अझै केही हलमा चलिरहेको छ। पल शाह,विपना थापा,उषा उप्रेती लगायत अभिनित यो चलचित्र दोस्रो धेरै कमाइ गर्ने चलचित्र हो। उता अनमोल केसी,जसिता गुरुङ अभिनित र सुयोग गुरुङले निर्देशन गरेको ‘जेरी अनटप’ सर्वाधिक कमाउने फिल्मको सूचीमा तेस्रो नम्बरमा छ । यसले १२ करोड भन्दा बढी कमाएको देखिन्छ।

त्यस्तै, विपिन कार्की,मिरुना मगर अभिनित चलचित्र ‘ऊनको स्वीटर’ले ११ करोड ४१ लाख ९२ हजार १ सय ९५ रुपैयाँ कमाएको छ । त्यसपछि उपेन्द्र सुब्बाले निर्देशन गरेको ‘जारी २’ ले जम्मा ६ करोड २४ लाख १७ हजार ४ सय ५३ रुपैयाँ कमाएर टप फाइभ भित्र परेको छ ।

उता ५ करोड भन्दा बढी कमाइ गरेर पनि सन्तोष सेन निर्देशीत चलचित्र ‘बलिदान’ ले लगानी सुरक्षीत गरेन। प्रदर्शन अगाडि निक्कै हाइफाइ देखिएपनी चलचित्रको ब्यापार निक्कै कमजोर भएको थियो। बरु ओम प्रतीक निर्देशित र पल शाह,नीति शाह,बेनिशा हमाल अभिनित चलचित्र ‘मोहर’ ले ५ करोड भन्दा बढी कमाइ गरेर पनि नाफा कमाउने चलचित्र बनेको छ। परिवर्तन,बरिस्ठ बलराम,माइतीघर,माग्ने राजा लगायत चलचित्र औसत रहे।

त्यसैगरी वर्षको अन्तिममा प्रदर्शन भएको माइकल चन्द निर्देशित र बिराज भट्ट अभिनित चलचित्र ‘राम नाम सत्य’ले पनि इज्जत जोगाउने गरि ब्यापार गरेको देखिएन। उता ‘हामी तिनभाइ’ ‘लालिमा’ ‘शिवांश’ ‘हेल्लो कासिराम’ ‘इन्दिरा धिमे मैचा’ लगायत चलचित्रले पोष्टर छापेको पैसा पनि उठाएनन् । इन्दिरा धिमे मैचा भन्ने चलचित्रको कलेक्सन ११ हजार ७०० रुपैयाँ मात्रै भएको देखिन्छ । यो चलचित्र जम्मा ७८ जनाले हेरेको पाइएको छ ।

त्यस्तै ‘हेलो काँशिराम’ भन्ने चलचित्रले ३४ हजार २०० रुपैयाँ कलेक्सन गरेको छ । यसको १३२ वटा टिकट बिक्री भएको छ । दिलिप रायमाझी अभिनित यो चलचित्र १ करोड भन्दा बढी लगानीमा बनेको थियो।‘द ब्ल्यू लाइट’ ले तीन लाख १९ हजार ५९५ रुपैयाँ कमायो भने ‘दिमाग घोच्ने मान्छे’ ले तीन लाख २५ हजार ९०० रुपैयाँ र ‘श्री बुकुरो’ भन्ने चलचित्रले तीन लाख ७३ हजार ४२५ रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय