के नेपाली कांग्रेस फुट्छ ?

शिरज शर्मा

नेपाली कांग्रेस यतिबेला इतिहासकै कठिन र गम्भीर मोडमा पुगेको छ। पार्टीको नाम र झण्डा एउटा भएपनी गुट र गुटैपिच्छे नेता र कार्यालय फरकफरक छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा छ तर,पूर्व सभापति शेरबहादुर देउवासहित धेरैजसो पूर्व पदाधिकारी र बरिस्ठ नेताहरू त्यहाँ पुगेका छैनन् । बाहिर हल्ला के पनि छ भने गगन थापासँग असन्तुष्ट बनेकाहरु नयाँ कार्यालयको लागी घर खोज्दैछन् रे !

पूर्व सभापति देउवा उपचारका लागि देश बाहिर भएपनी १४ औं महाधिवेशनमा उनिसँगै निर्वाचित उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ सहित केही पूर्व पदाधिकारी अहिले सानेपासँग टाढिएका छन् । त्यसमा प्रकाशमान सिंह,डा.शशांक कोइराला,बिमलेन्द्र निधि, कृष्ण सिटौला,डा.प्रकाशशरण महत,एनपि सावद लगायत छन् । संस्थापनसँग टाढा भएपनी शेखर कोइराला समूह भने यसमा सामेल छैन। शेखर समूह पार्टी मिलाउने पक्षमा छ, बिभाजनको पक्षमा छैन।

कांग्रेसको पछिल्लो विवादलाई प्रजातान्त्रिक पार्टीको लोकतान्त्रिक चरीत्र वा बिधि पद्धतिको लेपन लगाएर ढाकछोप गर्न खोजिएको भएपनी डालोले छोपेर राखेजस्तो होइन अब डोकोले छोपे जस्तो भैसकेको छ। छोप्न चाहिँ छोपेको छ तर,बाहिरबाट सबै देखिएको छ। कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाले नेतृत्व गरेको संस्थापन पक्ष,पूर्व उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेको १४ औं महाधिवेशनको शेरबहादुर देउवा पक्ष र डा.शेखर कोइरालाले नेतृत्व गरेको तेस्रो धार सक्रिय देखिन्छन् । त्यसमा पनि गगन नेतृत्वको संस्थापन र खड्का नेतृत्वको पूर्व संस्थापन चाहिँ आ-आफ्ना कार्यक्रम बनाएर छुट्टाछुट्टै देश दौडाहामा छन् । संस्थापन गगन थापा र पूर्व संस्थापन खड्का गुटको तुलनामा कोइराला गुट भने निकै कमजोर छ। यद्यपि कोइराला गुटले पार्टीलाई बिभाजन भन्दा एकतामा जोड दिँदै आएको छ।

गगन थापाले केही दिन अघि मात्रै खड्का र कोइराला गुटलाई कमजोर पार्नेगरी केन्द्रीय समितिमा १९ जना मनोनीत गरेका छन् । त्यसमा कोइराला गुटमा देखिएका धेरै छन् । त्यससँगै विगतमा शेरबहादुर देउवा निकट रहेर आरजु देउवा लगायतसँग व्यवसायीक साझेदार भनिएका उमेश श्रेष्ठलाई कोषाध्यक्ष नै बनाएपछि गगन थापाले अन्य गुटलाई कमजोर बनाइसकेको कुरा बुझ्न कठिन छैन। मनोनीत गरिएकाले पद अस्विकार गरेको पनि देखिदैन । यद्यपि कोइराला पक्षले समानान्तर गतिविधि रोकिसकेको छ भने खड्का पक्ष ७ वटै प्रदेशको भेला र प्रशिक्षणमा व्यस्त छ। त्यसो त कोइरालाले पार्टी फुट्ने अवस्था आएमा फुटलाई समर्थन नगर्ने बताइसकेका छन् । खड्का पक्ष भने अझै आक्रामक नै देखिन्छ।

यिनै गतिविधिलाई नियालिरहेका कतिपयले अब कांग्रेस फुट्न लागेको तर्क गरिरहेका छन् । यो कुरालाई खड्का पक्षको भेलामा लागिपरेका झापाका कृष्ण सिटौला,सिन्धुपाल्चोकका मोहनबहादुर बस्नेत,दोलखाका कुन्दनराज काफ्ले,ललितपुरका जित जंग बस्नेत र रामेछापका पूर्णबहादुर(कान्छाराम)तामाङले दिएको अभिव्यक्तिले बल पुर्‍याएको देखिन्छ। मोहन बस्नेतले आवश्यक परे ‘बाटो छुट्टै गरौं तर, गगन थापासँग नझुकौ’ भन्ने अभिव्यक्ति र कान्छारामले जेठ १५ पछि ‘छुट्टै पार्टी घोषणा हुनसक्छ’ भनेर दिएको अभिव्यक्तिले साच्चिकै कांग्रेस फुट्न लागेको हो ? भन्ने आशंका जन्माएको छ।

उता नेपाली कांग्रेस (राष्ट्रवादी) र नेपाली कांग्रेस लोकतान्त्रिक नामका दुई नामको चर्चा अनि छुट्टै कार्यालय संचालनको लागि घर समेत खोजी भैरहेको भनेर पनि प्रचारबाजी भैरहेको छ। यसमा पूर्ण सत्यता नभएपनी केही न केही खिचडी पाक्दै छ कि भन्ने शंका चाहिँ धेरैले गरेका छन् । गत फागुन २१ को निर्वाचनमा पार्टीकै केही जिम्मेवार नेताहरूले गृह जिल्ला नजानु,भोट अपिल नगर्नु,उम्मेदवारलाई असहयोग गर्नु र सभापति गगन थापालाई नमान्ने कुरा सार्बजनिक रुपमै बोल्नुले पनि पार्टी भित्र दरार बढाउने काम गरेको देखिन्छ। खासगरी विशेष महाधिवेशन र सभापति थापालाई नै मान्दिन भन्ने नेताहरूका कारण परिस्थिति बिग्रेको कतिपयको भनाइ छ ।

हिजो शेरबहादुर देउवा सभापति हुँदा पदाधिकारी रहेका केही  र १४ औं महाधिवेशनमा पदाधिकारीमा चुनाव हारेका नेताहरूले बिशेश महाधिवेशनलाई र गगन थापालाई मान्न असजिलो महसुस गरिरहेका छन् । पूर्व उपसभापति खड्का सहित पूर्व उपसभापति धनराज गुरुङ,सहमहामन्त्रीहरु जीवन परियार,बद्री पाण्डे,पूर्व प्रबक्ता डा.प्रकाश शरण महतसँगै त्यसभन्दा अगाडिका पदाधिकारी कृष्ण सिटौला, प्रकाशमान सिंह,बिमलेन्द्र निधि,डा.शशांक कोइराला लगायतले देउवापछि सभापति बन्ने इच्छा राख्दै आएकोमा सिधै गगन थापामा नेतृत्व आइपुग्ने कुरालाई सहज रुपमा लिन सकिरहेका छैनन् । त्यसैले पनी पार्टी विभाजन गरेर छुट्टै बाटो हिंड्न परे पनि हिंडौ भन्ने कुरामा समेत यी नेता पुगेको देखिन्छ।

तर, अहिलेको राजनीतिक परिदृश्य र पछिल्लो चुनावी नतिजाले भने कांग्रेसलाई फुट्न होइन जुट्न दबाब दिएको छ। त्यत्रो जनमत भएर पनि लज्जास्पद हार अनि आफ्नै क्रियाशिल सदस्य र वडादेखी केन्द्र सम्मको जिम्मेवारीमा रहेका केही नेताकार्यकर्ताको गलत रिपोर्टिङले चुनावी परिणामबाट खुम्चेको कांग्रेसलाई पुनर्जीवन दिन टुट्,फुट र विभाजन भन्दा एकता झन् आवश्यक देखिन्छ। सभापति गगन थापा,पूर्व उपसभापति पूर्णबहादुर खड्का र नेता डा.शेखर कोइरालाले एकपटक एउटै टेबलमा बसेर गम्भीर समिक्षा गर्ने हो भने पार्टी विभाजन रोकिने र कांग्रेस पुनः पुनर्जजिवित हुनेमा धेरैले आशा राखेका छन् । जिम्मेवार लोकतान्त्रिक शक्ति हुनुका नाताले र बिगतदेखी त्याग,समर्पण र बलिदान गर्दै आएका अनुभवी नेताहरू अझै सक्रिय रहेकाले पार्टी बिभाजन हुँदैन र हुनुहुदैन । यतिबेला आम कांग्रेसी नेताकार्यकर्ताले मात्रै होइन कांग्रेसलाई साथ समर्थन र नैतिक बल दिँदै आएका जनताले पनि कांग्रेस बिभाजन होस् या मासियोस् भन्ने कामना गरेका छैनन् । बरु नेताहरु मिलुन र पार्टी नफुटोस् भन्ने चाहना र कामना धेरैले गरेका छन् । कांग्रेसको मूल नेतृत्व र गुटगत नेतृत्वले यो कुरा समयमै बुझेर अगाडि बढ्दा कांग्रेस पार्टी र लोकतन्त्र दुबैको हित हुनेछ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • के नेपाली कांग्रेस फुट्छ ?

    नेपाली कांग्रेस यतिबेला इतिहासकै कठिन र गम्भीर मोडमा पुगेको छ। पार्टीको नाम र झण्डा एउटा भएपनी गुट र गुटैपिच्छे नेता र कार्यालय...