भावी प्रधानमन्त्री गगन थापा !

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो सानेपा स्थित केन्द्रीय कार्यालयमा बस्दैछ। बैठकले सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा जाने निर्णय गर्नेछ।
दिउँसो १ बजे बस्नेगरी केन्द्रीय कार्यसमिति बैठक बोलाइएको प्रबक्ता देवराज चालिसेले बताए। आजको बैठकमा विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा सहितका पदाधिकारीको पदभार ग्रहण पनि हुनेछ। विशेष महाधिवेशनपछि पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो। यो बैठकले चुनावी परिणाम पार्टीको पक्षमा ल्याउन सभापति थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर जाने निर्णय गर्ने स्रोतले बताएको छ। गगन थापा सभापति भएपछि कांग्रेस नेताकार्यकर्तामा उत्साह थपिएको छ।
नेपाली कांग्रेसले बैठकका लागि विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति र प्रदेश कार्यसमिति सभापतिहरूलाई समेत बोलाइएको जनाएको छ। गत पुस २७-३० सम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको सभापतित्वमा कांग्रेसको नयाँ कार्यसमिति निर्वाचित हुँदा निवर्तमान सभापति शेरबहादुर देउवा सहित केही नेता खुशी थिएनन् । उनीहरु महाधिवेशनमा समेत सहभागी भएनन् । यद्यपि सभापति थापाले प्रतिनिधि सभा टिकट वितरणमा अप्रत्याशित सुखद नतिजा निकालेपछि विवाद धेरै मथ्थर भएको थियो।
साथै सभापति थापाले निवर्तमान सभापति देउवा,उनकी पत्नी आरजु राणा,पूर्वगृहमन्त्रीहरु रमेश लेखक,बालकृष्ण खाण लगायतलाई भने टिकट दिएनन् । तर, डा.शेखर कोइराला सहित उनी पक्ष भनेर चिनिएका नेतालाई टिकट दिएका छन् । देउवा पक्षका पनि विमलेन्द्र निधी,डा.प्रकाशशरण महत,किशोर सिंह राठौर,नैनसिंह महर सहित धेरैले टिकट पाएका छन् । गगनको नेतृत्वमा कांग्रेसले चुनावी नतिजा सुखद निकाल्ने अपेक्षा समेत गरिएको छ। सभापति गगन थापा चाहिँ सर्लाही ४ बाट उम्मेदवार छन् । महामन्त्रीद्वय गुरुराज घिमिरे मोरङ र प्रदीप पौडेल काठमाडौं ५ बाट उम्मेदवार छन् ।

