आज उम्मेदवारी फिर्ता,भोलि चुनाव चिन्ह
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको लागि मनोनयन गरेका उम्मेदवारले आज उम्मेदवारी फिर्ता लिन चाहेमा फिर्ता लिन समय दिइएको छ।
देशभरबाट उम्मेदवार रहेका ६८ दलका र स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवार मध्य उम्मेदवारी फिर्ता लिनेले आजको समय पाउनेछन् । आजै बेलुकी उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने र भोलि सबै उम्मेदवारलाई चुनाव चिन्ह दिने निर्वाचन आयोगले जनाएको छ। राजनीतिक दलले पार्टी दर्ताकै समयमा आफ्नो चिन्ह पाइसकेका छन् । यद्यपि तिनलाई पनि आधिकारिक चिन्ह भनेर दिइनेछ। त्यसैगरी स्वतन्त्र रुपमा उठेका र दलको उम्मेदवार विरुद्ध बागी उठेका उम्मेदवारले पनि नयाँ चुनाव चिन्ह पाउनेछन् ।
फागुन २१ को निर्वाचनको लागि यसपटक ३ हजार भन्दा बढी उम्मेदवार चुनावी मैदानमा हुनेछन् । ती मध्य १६५ उम्मेदवार प्रतिनिधि सभामा प्रवेश गर्नेछन् । सबैभन्दा बढी उम्मेदवार रुपन्देही,मोरङ,झापा,पर्सा,धनुषा,काठमाडौं र कैलालीमा छन् । यसैगरी मुस्ताङ,मनाङ,डोल्पा,रसुवामा कम छन् ।

